गौरीप्रसाद दवाडी,
काठमाडौं उपत्यका नेपालको राजधानी भएकोले यहाँ पाइने शिक्षा, स्वास्थ्य, रोजगारलगायतका विविध सुविधाले विकासको क्रमसँगै मानवीय बस्ती पनि दिनप्रतिदिन बढिरहेछ । बस्तीसँगै मानवीय समस्या बढ्नु पनि स्वाभाविक हो । मानवीय कारणले उब्जाएका समस्यामध्ये हरेक वर्ष पटक–पटक भेलबाढीको समस्याले उपत्यका सधैँ आक्रान्त छ । प्रकृतिले आफू अनुकूल मानिसलाई व्यवस्थापन गरेर रहन निर्दिष्ट गरेको हुन्छ ।
सोहीअनुसार मानिसले पनि परापूर्वकालदेखि परिवेशअनुसार विषेश गतिविधि, चलन चलाएर प्रकृति अनुकूल व्यवस्थापन गरिआएका हुन्छन् । अहिलेका वातावरणविद्ले पनि प्रकृति अनुकूल विकास हुनुपर्छ भनी जोड दिइरहेका छन् । काठमाडौं उपत्यकामा प्राकृतिक स्वरुप कुरुप बनाउँदै अतिक्रमण भइरहेकोले समस्या पनि जटिल बन्दै छ ।
यसै सन्दर्भलाई लिएर बाढीको समस्या हटाउन चोभारको प्राकृतिक गल्छी काट्नेसम्मका योजना बन्न थलेका छन् । यो नितान्त अवैज्ञानिक सोचले प्रेरित प्रकृति विपरीतको मानसिक उपज हो । प्रकृतिको अध्ययन नगरी उपत्यकामा भएको मानवीय परिणाम हो बाढीको समस्या, जसको समाधानका लागि निम्न विषयमा ध्यान जानु जरुरी छ ।
१. एतिहासिक मानवीय बसोबासको पृष्ठभूमिलाई नियाल्दा काठमाडौं उपत्यकाका काँठक्षेत्रका हरेक घरमा रछ्यान हुन्थ्यो । रछ्यान भन्नाले फोहोर व्यवस्थापन गरी कंपोस्ट मल बनाउने प्रविधि हो । यो प्रविधि मल तयार गर्ने मात्र नभएर पानी सञ्चित गर्ने अर्थात् अहिलेको भाषामा रिभर्स बोरिङ पनि हो । वर्षातमा पानी जमाउने तरिका पनि हो यो । घरका हरेक सदस्यले रछ्यानमा हातमुख धुने गर्दथे । नुहाएको पानी रछ्यानमा नै जाने गरी संरचना बनाएको हुन्थ्यो । परेको पानी सञ्चित गर्न रछ्यानसम्म निकास बनाएको हुन्थ्यो । रछ्यानका पातपतिङ्गर तथा अन्य घरबाट निष्कासित फोहरमैलाले पनि पानी सोसेर पानीको रिजर्भ हुने गर्दथ्यो । हरेक घरको पानी पृथ्वी सिञ्चितमा खर्चिन्थ्यो । यस प्रविधिले जमिन सेपिलो रहेर सागसब्जी, अन्न उत्पादनको सहायक हुने, पानीका मूलहरु दिगो रहने अवस्था थियो । यी रछ्यानजस्ता खाल्डाहरुमा वर्षाको पानी जमेर रहने हुनाले यसले बाढीबाट बचाउँथ्यो ।
काठमाडौं उपत्यकाको शहरी क्षेत्रका झुरुप्प रहेका नेवारी बस्तीका घरहरुमा रछ्यानबाहेक ठाउँ अभाव हुने, विशेष गरी किसानको घरमा । घरभित्र नै भ¥याङमुनि खाडल बनाएर जल व्यवस्थापन गरी मल बनाएर खेतबारीमा पु¥याउने गरिन्थ्यो । यो पानी सञ्चय र कम्पोस्ट मल उत्पादन पद्धति थियो । मलका खाडलका कारण बाढी हेर्न ठूलै वर्षा कुर्नुपर्ने वातावरण थियो । यो परम्परागत मानवमैत्री उपयोगी मलका खाडल बिस्तारै शहरिया र सुद्रिढ समाजको नाममा विस्तापित हुँदै गए । यसको कारण अहिले मानिसले खर्चेको थोरै पानी पनि सीधै ढल भएर नदिनाला हुँदै एकमात्र नदीको निकास वाग्मतीमा पुग्छ, जसका कारण सधैँ सामान्य पानीको पनि भेल र बाढीको प्रकोप बन्न पुग्छ ।
२. काठमाडौं उपत्यकाभरि नै साना–ठूला असंख्य पोखरीहरु थिए । एक टोलमा एक पोखरी अनिवार्यरुपले बनेको हुन्थ्यो । पोखरी गाईवस्तुको पानी आपूर्ति, सरसफाइ, लुगाफाटो धुलाइ, सिँचाइको लागि प्रयोग हुन्थ्यो । पशुपक्षीका लागि पानीको उपलब्धिसमेत पोखरीको माध्यमबाट हुने हुनाले यसको अत्यन्त महत्वका साथ जनताले संरक्षण गर्थे । धार्मिक, सांस्कृतिक महत्वका पोखरी पनि असंख्य थिए । वर्षाका समयमा पोखरी मर्मत गरेर पानी भर्ने काम हुन्थ्यो ।
वर्षामा अधिकांश पोखरी पानीले भरिने र सो पानीले खेतीपाती गरिने हुनाले पानीको सदुपयोग थियो । यसले भूक्षयको रोकथाम हुन्थ्यो । यी हजारौं हजार संख्यामा रहेका पोखरीले बाढी नियन्त्रण र बाँधको काम गरिरहेका हुन्थे । पहिले १०÷२० वटा पोखरी रहेको टोलमा अहिले जाँदा ती पोखरी छैनन् । पोखरीका स्थानमा भवन, क्लब घर, विद्यालय बनेका छन् । खेल्ने चउरसमेत बनेका छन् पोखरीमा । परेको पानी जम्ने कुनै ठाउँ नभएपछि वर्षातको पानी एकैपटक खोलामा पुगेर बाढीको रुप धारण गरिरहेको छ ।
३. हरेक गाउँ–टोलमा खानेपानीका इनारहरु थिए । यी इनार निर्माण रिभर्स बोरिङ अर्थात् जमिनमुनि पानी पठाउने प्रमुख प्रविधि हो । इनारमा पानी सञ्चय हुने, पानीको आपूर्ति प्रबन्ध हुने अवस्था पनि करिब–करिब निर्मूल भएको छ । कति इनार पुरिए, कति भत्काइए । यी हजारौं हजार संख्यामा रहेका इनारका कारण पनि बाढी रोक्न बाँधको काम हुन्थ्यो । इनारहरु विस्थापित हुनु पनि बाढी आउनुको अर्को कारण हो ।
४. काठमाडौं उपत्यकाको पानी सञ्चय गर्ने र बढी रोक्ने अर्को प्रविधि हाम्रो कृषि प्रणाली हो । उपत्यकाको धानखेती वर्षातको समयमा हुनाले किसानहरुले खेतमा आली लगाएर प्रशस्त पानीको बहाव रोक्ने गर्थे । असार–साउनको समयमा उपत्यकाको कुनै अग्लो डाँडाबाट हेर्दा लाग्थ्यो, उपत्यका नै सिंगै पोखरी हो । यो कृषिको भूभि आज घर, सडक, पिच, ढलानका कङ्क्रिटले भरिएको छ । अहिलेको अवस्थामा पानी खपत गर्ने, जमाउने, सिंचित गर्ने कुनै अवस्था रहेन । कुनै स्थलभागमा खर्चेको पानी सीधा नदीनालामा पुग्ने हुनाले वर्षा र बाढी पर्यायवाची भएका छन् ।
५. नदीनालाबाहेक उपत्यकामा धेरै वर्षातमा पानी बहावका कुला–कुलेसाहरु थिए । सिंचाइ व्यवस्थित थियो । खानेपानी आपूर्तिका राजकुलाको नामले असंख्य कुलाहरु थिए । यी कुला, खोल्सा, कुलेसा अहिले ढलान र पिचका बाटो बनेका छन्, जसका कारण पानी सीधै नदीमा पुगेर बाढीको रुप देखिन थालेको छ ।
उपत्यकाका जनताले परापूर्वकालदेखि गरिअएका समूल कार्यहरु सुधारका वैकल्पिक उपाय सोचेर कार्यान्वयन नगरेसम्म उपत्यकाको बाढीको प्रकोप रोक्ने परिकल्पना गर्न सकिनेछैन । बाढीको विकराल समस्या रही नै रहनेछ । उपत्यकाको भूअवस्था के छ, पानीको व्यवस्थापन कसरी गर्ने, विभिन्न ठाउँबाट वर्षातमा बहने जल प्रवाह न्यून कसरी गर्ने ? आदिका सम्बन्धमा विगतको अध्ययनको जरुरी छ । भविष्यमा हुन सक्ने क्षति र जोखिमको बारेमा सोच्नु अझ जरुरी छ ।
प्रकृतिक बनोट र ठाउँअनुसारको व्यवस्थापन गरेर, सोतसाधनको पहिचान गरेर मानिसहरु बसोबासको स्थिति प्रचीन समयदेखि गर्दै आएका हुन् । जसको कारण मानिस र प्रकृतिबीचको सन्तुलन मिली जोखिम न्यून भएको थियो । यस विषयमा सोच्नु अति जरुरी छ ।
घरैपिच्छे एक–एक रछ्यानको विकल्प पहिचान नगरी सबै रछ्यान पुरिनुहुँदैनथ्यो, सबै विस्थापित भयो । रछ्यानको पानी सञ्चयको बदलामा एक घर एक खाडल प्राविधिक भाषामा सोपिठ अनिवार्य गरेर नगरपालिकाहरुले कार्यान्वयनमा ल्याउनुपर्छ । घरको पानी घरमा नै व्यवस्थापन गर्न सकेमा उपत्यकाका सुकेका इनारहरुमा पानी पलाउन थाल्छ । सिमसारमा पनि उम्रन थाल्छ । जमिन सिञ्चित भएर घाँस, बोटबिरुवा उम्रिई प्राकृतिक वातावरणसमेत रमणीय हुँदै आउँछ ।
उपत्यकाका टोलटोल र गाउँगाउँमा पुरिएका सबै पोखरीहरु पुनर्निर्माण गर्नु वर्षाको पानी रोक्न सकिने अर्को महत्वपूर्ण तरिका हो । पुराना पोखरीहरु पुनर्निर्माण र खुल्ला क्षेत्रमा नयाँ पोखरी निर्माण गर्न सके आकाशे पानी पोखरीहरुमा जम्मा भई बाढीको प्रकोप न्यून गर्न सकिन्छ । साथै वैकल्पिक पानी प्रयोगको स्रोत निर्माण हुन्छ र उपत्यकाको प्रदूषण न्यून गर्न मद्दत पुग्छ ।
परम्परागत राजकुलो बचेको भए तिनीहरुको संरक्षण गर्नुपर्छ ।
मासिएका अर्थात् विस्थापित राजकूलोको वैकल्पिक कुलो, ढल बनाएर पानी परेका समयमा व्यवस्थित गरी बाढी–भेल न्यून गर्न सकिनेछ । यसै गरी कृषियोग्य जमिन रहेका क्षेत्रहरुमा सिंचाइ पोखरी बनाएर पानी जम्मा गर्न सकेमा बाढीको समस्या न्यून हुनेछ । उपत्यकाका सबै पालिकाबाट अनुदानको प्रबन्ध गरेर किसानबाट पोखरी निर्माण गराउने नीति तय भएमा कृषि, माछापालन गर्न सकिन्छ । यसबाट उब्जाउ वृद्धि हुनुका साथै बाढीको प्रकोप न्यून गर्न सहायकसिद्ध हुनेछ ।
बाढी नियन्त्रणका लागि प्रकृतिको स्वरुपअनुसार पुर्खाले अपनाएका इनार, पोखरी, खाडलको संरक्षण एवं निर्माणजस्ता परम्परागत प्रविधि अपनाउनुपर्नेमा पुर्खाको अवधारणा र संरचनाको वास्ता नगरी त्यस्ता संरचना ध्वस्त गर्नु भनेको प्राकृतिक विपत्ति निम्त्याउनु हो । अहिले चोभारको गल्छी काटेर बाढी नियन्त्रण गर्नु भनेको पनि हत्केलाले सूर्य छेकेर शीतल पार्छु भन्ने परिकल्पनाजस्तै हो ।
विकास नागरिकका लागि हो, के गरेमा जनता खुशी हुन्छन् भनी विकासको परिकल्पना हुनुपर्छ । भएको प्राकृतिक स्वरुप बिगार्न जनता चाहँदैनन् । सबै पालिकाहरुको समन्वयमा जनसहभागिताको समेत परिचालन र सहयोगमा बिगारेका, भत्काएका संरचनालाई वैज्ञानिक तवरले अध्ययन गरी उपत्यकाको पानी व्यवस्थापन गर्नु बुद्धिमानी हुन्छ, नकि चोभारको गल्छी काट्ने ।
(लेखक दवाडी भूगोल विभागका पूर्वप्राध्यापक हुनुहुन्छ ।)
साभार: news of nepal








