फोटो : राजन चाैधरी
यज्ञप्रसाद सापकोटा, बर्दिया ।
बर्दियामा आहारा र बासस्थानको अभावमा स्थायी रुपमा गिद्धहरू बस्न छाडेका छन् । प्रकृतिको कुचिकारको रुपमा चिनिएका गिद्धहरू विगत १२ वर्ष अगाडि देखि बर्दियामा गुँड बनाउन छोडेका छन् ।
अग्ला सिमल र साजका रुखमा भेटिने गिद्धका गुँड पछिल्लो समयमा भेटिन छोडेका हुन् । विशेषगरी आहाराको अभाव भएको हुँदा बच्चा हुर्काउन कठिन भएपछि बर्दियामा गिद्धका गुँड भेटिन छोडेका हुन् । तराइको सबैभन्दा ठुलो निकुञ्ज बर्दिया राष्ट्रिय निकुञ्जमा कहिले काँही आहाराको खोजीमा गिद्ध आउने गरेपनि गुँड बनाएर बच्चा नहुर्काएको धेरै भएको छ । गत जेठको पहिलो सातामा कृष्णसार संरक्षण क्षेत्रमा डंगर गिद्ध फेला परेको थियो । करिब एक महिना बसेको गिद्धका बथानले गुँड भने बनाएनन् ।
अग्ला सिमलका रुखहरू मासिँदै गएको र सिमलका रुख भएको स्थानमा शान्त वातारण नभएकाले पनि गिद्धका गुँड भेटिन छोडेका हुन् । स्थायी रुपमा बस्ने गिद्ध र गिद्धका गुँडहरू बर्दियामा फेला नपरेपनि समय समयमा बसाई सरी आहाराका लागि घुम्न आउने गिद्ध भने फेला पर्ने गरेका छन् । बर्दियाको कृष्णसार संरक्षण क्षेत्र बढैयातालको आसापासको क्षेत्र, बर्दिया राष्ट्रिय निकुञ्ज र गेरुवा गाउँपालिकाको इन्टेक क्षेत्रमा गिद्धहरू देखिने गरेको बर्दिया प्रकृति संरक्षण क्लबका अध्यक्ष राजन चौधरीले बताउनु भयो । उहाँले गिद्धको स्थायी बसोबास नभएपनि कैलालीको खुटिया, सुर्खेतकको गिद्धेडाँडा, दाङ्गको लालमटिया र बिजौरी क्षेत्र र भारतको विभिन्न क्षेत्रबाट आहाराको खोजीमा गिद्ध आउने गरेको बताउनु भयो । उहाँले भन्नु भयो –æगुँड बनाएर बच्चा हुर्काउनका लागि गिद्धलाई नजिकै पर्याप्त आहारा चहिन्छ, त्यसको अभावमा बर्दियामा गिद्धका गुँडहरू भेटिन छोडेका छन् ।Æ
बर्दियामा १२ बर्ष अगाडि गिद्धका गँुडहरू फेला पर्ने गरेपनि पछिल्लो समयमा गिद्धका गुँड र स्थायी बासस्थान फेला नपरेको नेपाल गिद्ध संरक्षण अभियानका सदस्य सचिव रामबहादुर शाहीले बताउनु भयो । æबर्दियामा कतै गिद्धका गुँडहरू भेटिन्छन् की भनेर अध्ययन गरौँ तर हाल फेला परेका छैनन् । Æ उहाँले भन्नु भयो – æगिद्धको स्थायी बासस्थान र गुँड भेटिएमा त्यसको आसपासको क्षेत्रमा गिद्ध रेस्टुरेन्ट बनाउने सोचमा थियौँ त्यो पुरा भएन ।Æ गिद्धको बासस्थान नभएपनि विभिन्न स्थानमा समय समयमा गिद्ध देखिने गरेको उहाँले बताउनु भयो ।
गिद्ध संरक्षणको बारेमा सचेतनामुलक कार्यक्रम गर्ने, गिद्धहरू अनुगमन गर्ने र प्रकृतिमा गिद्धको महत्वको बारेमा विद्यालय र समुदायमा सचेतना फैलाउने काम गरिरहेको उहाँले बताउनु भयो ।
प्रकृतिको कुचिकारको रुपमा लिइने गिद्ध संरक्षणका लागि प्रयास भएपनि गिद्धको संख्या घट्दै गएको छ । नेपालमा हाडफोर, सेतो, डङ्गर, सानो खैरो, खैरो, हिमाली, राज, सुन र लामो ठुँडे गरी नौ प्रजातिका गिद्ध पाइन्छ । ती गिद्ध मध्ये डङ्गर गिद्ध, सानो खैरो गिद्ध, सुन गिद्ध र लामो ठुँडे गिद्ध अति सङ्कटापन्न, सेतो गिद्ध सङ्कटापन्न, हिमाली र हाडफोर गिद्ध सङ्कटको नजिक रहेका छन् । नेपाल गिद्ध संरक्षण अभियानका अनुसार नेपाल भरि करिब १५ हजारको संख्यामा गिद्ध रहेका छन् ।
विषेशगरी गिद्धको आहारा विषाक्त भएको कारणले गर्दा गिद्धको संख्या घट्दै गएको हो । घरपालुवा जनावरमा डाइक्लोफिनाक औषधीको प्रयोग र सो औषधी प्रयोग पश्चात् मृत पशुको मासु गिद्धले खाँदा संख्या घट्दै गएको संरक्षणकर्मीको भनाई छ ।








