निनाम लोवात्ती,
लामो समयदेखि नेपाल सरकारलाई हिमाल आरोहणबाट प्राप्त हुने आम्दानी अर्थात् सलामी दस्तुरमा धेरै योगदान सगरमाथा हिमालको रहेको छ । यसो हुनुको कारण सगरमाथा हिमाल हालसम्म विश्वकै अग्लो हिमालका रुपमा रहेको हुनाले पनि हो भन्न सकिन्छ । हुन पनि सन् २०२२ देखियताको तथ्यांक हेर्दा नेपालमा रहेका विभिन्न हिमाल आरोहणका लागि आउने विदेशी र स्वदेशी पर्वतारोहीहरुले तिरेको सलामी दस्तुरको अत्यधिक अंश अर्थात् झन्डै ९० प्रतिशत त केवल सगरमाथा हिमाल एक्लैको रहेको देखिन्छ ।
सो वर्ष अर्थात् सन् २०२२ को वसन्त ऋतुमा नेपाल आएका विदेशी पर्वतारोहीहरुबाट नेपालमा रहेका विभिन्न हिमाल आरोहणबापत नेपाल सरकारलाई ७१ करोड ४८ लाख बराबर नेपाली रुपियाँ प्राप्त भएको थियो । त्यसमध्ये ६६ करोड नेपाली रुपियाँ बराबरको विदेशी मुद्रा केवल सगरमाथा हिमालको सलामीबापत मात्रै प्राप्त भएको थियो । त्यस्तै सन् २०२३ को वसन्त ऋतुमा पनि नेपालमा रहेका विभिन्न हिमाल आरोहण गर्न आएका विदेशी पर्वतारोहीहरुले ७६ करोड चानचुन रकम सलामी दस्तुर अर्थात् रोयल्टीबापत मात्रै बुझाएका थिए, नेपाल सरकारलाई । उक्त रमकमध्ये ६६ करोड ६४ लाख २० हजार रकम सगरमाथा हिमाल आरोहणका लागि तिरेको रकम मात्रै रहेको थियो ।
त्यस्तै सन् २०२४ को वसन्त ऋतुमा पनि नेपालमा रहेका विभिन्न हिमाल आरोहण गर्न आएका विदेशी र स्वदेशी पर्वतारोहीहरुले ६७ करोड ४७ लाख १४ हजार सलामीबापत नेपाल सरकारको मातहत रहेको पर्यटन विभागलाई बुझाएका थिए । हो, त्यसरी सलामीबापत उठेको रकममा पनि ५९ करोड २३ लाख ५ हजार ८४९ रुपियाँ बराबरको विदेशी मुद्रा त सगरमाथा हिमाल एक्लैले कमाएको थियो । त्यस्तै गरेर पछिल्लो तथ्यांकअनुसार यस वर्ष (सन् २०२५÷वि.सं. २०८२) को वसन्त ऋतुमा पनि नेपालका विभिन्न २६ वटा हिमाल आरोहण गर्न आएका विदेशी तथा स्वदेशी पर्वतारोहीहरुले ७७ रकोड ३५ लाख रुपियाँ सलामीबापत नेपाल सरकारलाई तिरेका छन् ।
त्यसमध्ये ६५ करोड ३८ लाख रुपियाँ त सगरमाथा हिमालबाट मात्रै सलामीबापत कमाइ भएको छ, नेपाल सरकारलाई । पर्यटन विभागले केही समयअघि जारी गरेको प्रेस नोट (प्रेस वक्तव्य) अनुसार यस वर्षको वसन्त ऋतुमा विश्वका ७३ देशका १ हजार ९२ जना पर्वतारोहीहरुले नेपालका २६ वटा हिमाल आरोहण गर्न अनुमतिपत्र लिएका थिए । त्यसमा पनि ४५६ जना पर्वतारोहीहरुले केवल सगरमाथा हिमाल आरोहण गर्ने हिसाबले अनुमतिपत्र लिएका थिए । स्मरण रहोस्, यो वर्ष सगरमाथा हिमाल आरोहण गर्न अनुमति लिएका ४५६ जना पर्वतारोहीमा ८४ जना महिला र ३७२ जना पुरुष रहेका थिए ।
यसरी हेर्दा समग्रमा हिमाल आरोहणबाट नेपाल सरकारलाई हुने आम्दानीमा लगभग ८९–९० प्रतिशतदेखि ९२–९३ प्रतिशतसम्म सगरमाथा हिमाल एक्लैको रहने गरेको देखिन्छ । त्यसो भए तापनि त्यसरी विदेशी र स्वदेशी पर्वतारोहीहरुले सगरमाथा हिमाल आरोहण गर्न अनुमति लिएबापत तिरेको राजस्व अर्थात् सलामी दस्तुरको धेरै सानो अंश मात्रै स्थानीय बासिन्दाले उपभोग वा भनौं खर्च गर्न पाएका छन्, जुन कुरो प्राकृतिक न्यायको हिसाबले हेर्दा पनि न्यायोचित नभएको हो कि ? भनेजस्तो देखिन्छ । त्यसैले गर्दा केन्द्र अर्थात् संघीय सरकारले विदेशी र स्वदेशी पर्वतारोहीले सगरमाथा हिमाल आरोहण गर्न अनुमति लिएबापत तिरेको राजस्व अर्थात् सलामी दस्तुरको बढी अंशचाहिँ स्थानीय सरकारले उपभोग वा भनौं प्रयोग गर्न पाउने गरी संघीय बजेटमै विनियोजन गर्ने हो कि ?
जे–जस्तो भए तापनि नेपाली पर्यटन उद्योगको विभिन्न शाखा तथा प्रशाखा (उपक्षेत्र) बाट जीडीपीमा योगदानको कुरो गर्दा नेपालका विभिन्न हिमाल आरोहणबाट नेपाल सरकारले गत पाँच वर्षमा गरेको कमाइको तुलना गरेर यो लेखमा केही लेख्दै छु । जस्तै– सन् २०२१ मा नेपालका विभिन्न हिमाल आरोहणबाट नेपाल सरकारले ६३ करोड ५२ लाख ४९ हजार कमाइ गरेको थियो । अर्थात् सो वर्ष नेपालमा विदेशी र स्वदेशी पर्वतारोहीलाई आरोहण गर्न खुल्ला गरिएको विभिन्न हिमाल आरोहणका लागि अनुमति जारी गरेबापत आरोहीबाट लिइएको सलामी रकमबापत नेपाल सरकारले ६३ करोड ५२ लाख ४९ हजार बराबरको विदेशी मुद्रा कमाइ गरेको थियो ।
त्यस्तै सन् २०२२ मा नेपाल सरकारले ७० करोड ३४ लाख २९ हजार बराबरको विदेशी मुद्रा आर्जन गरेको थियो, विभिन्न हिमाल आरोहणका लागि पर्वतारोहीहरुलाई अनुमतिपत्र जारी गरेबापत भने सन् २०२३ मा चाहिँ ७६ करोड ६९ लाख ३८ हजार बराबरको विदेशी मुद्रा आर्जन गर्न सफल भएको थियो । उता सन् २०२४ मा चाहिँ केही कम अर्थात् ६८ करोड ९९ लाख ३१ हजार बराबरको विदेशी मुद्रा आर्जन गरेको थियो, नेपाल सरकारले । हालको चालू वर्ष (सन् २०२५) को वसन्त ऋतुमा नेपालमा रहेका विभिन्न उचाइका २६ वटा हिमाल आरोहण गर्ने पर्वतारोहीहरुलाई अनुमतिपत्र जारी गरेबापत ७४ करोड ७९ लाख ३५ हजार विदेशी मुद्रा आर्जन गर्न सफल भएको छ । यसरी हेर्दा नेपाली पर्यटन उद्योगबाट नेपाल सरकारले गर्ने आम्दानीको राम्रो स्रोतमा पर्वतारोहणबाट प्राप्त हुने सलामी अर्थात् रोयल्टी पनि एक रहेको छ ।
यसरी हेर्दाखेरि नेपालको पर्यटनमा हिमाल आरोहणको मुख्य भूमिका देखिन्छ । खास गरीकन पछिल्लोपटक नेपाल सरकारलाई पर्यटन उद्योगबाट राजस्व प्राप्त हुने विभिन्न स्रोतहरुमध्ये प्रमुख स्रोतका रुपमा पर्वतारोहण पनि एक रहेको मान्न सकिन्छ, मान्नुपर्ने हुन्छ । त्यसमा पनि सगरमाथा हिमाल आरोहण गर्न आउने विभिन्न देश पर्वतारोहीहरुबाट उठ्ने राजस्व अर्थात् आर्थिक योगदानलाई कम आँक्न मिल्दैन । किनभने, माथि नै उल्लेख गरिसकिएको छ कि सगरमाथा हिमालबाट कति प्रतिशत आम्दानी हुन्छ भनेर, त्यसैले समग्र हिमाल आरोहणबाट हुने आम्दानीको तथ्य–तथ्यांक हेर्दा नेपालमा हालसम्म पर्वतारोहीहरुले आरोहण गरुन् भनी खुल्ला गरिएका ४७६ वटा हिमालमध्ये सगरमाथामा नै धेरैजसो पर्वतारोहीहरुको आकर्षण रहने गरेको छ । यसो हुनु स्वाभाविक पनि रहेको छ । किनभने, सगरमाथा हिमालको उचाइ समुद्र सतहलाई आधार मानेर हेर्दा–नाप्दाखेरि अहिलेसम्मकै विश्वकै सबैभन्दा अग्लो हिम चुचुरोका रुपमा रहेको छ । स्मरण रहोस्, सगरमाथा हिमालको उचाइ पछिल्लोपटक ८,८४८.८६ मिटर कायम गरिएको छ ।
सरकारले पटकपटक गरेर हालसम्म ४७६ वटा हिमाल पर्वतारोहीहरुले आरोहण गरुन् भनेर खुल्ला गरेको छ । त्यसो भए तापनि बर्सेनि सगरमाथा हिमालमै पर्वतारोहीहरुको ठूलो भीड हुने गरेको देखिन्छ । यस्तो किन भइरहेको छ त ? सरकारले यसको सटिक एवम् चित्त बुझ्दो जवाफ दिन सक्दैन । हुन सक्छ, सगरमाथा हिमाल विश्वको एकमात्रै अग्लो र ‘आइकोनिक’ हिमालका रुपमा स्थापित भएको हुनाले गर्दा प्रायः सबै पर्वतारोहीहरुको आकर्षण सगरमाथामै रहेको होस् । त्यसैले हालसम्म लगभग नौ हजार पर्वतारोहरुले १२ हजारदेखि १३ हजारपटक आरोहण गर्न सफल भएका छन् ।
त्यसरी नौ हजार पर्वतारोहीहरुले १२ हजारदेखि १३ हजारपटक आरोहण गर्न कसरी सफल भए ? भन्दा एकै व्यक्तिले आठौं, नौऔं, १० औं, ११ औं, १२ औं, १३ औं, १४ औं, १५ आंै, १६ औं, १७ औं, १८ औं, १९ औं, २१ औं २२ औं, २३ औं, २६ औं २७ औं, २९ औं, ३० औं एवम् ३१ औं पटक सगरमाथा आरोहण गरिसकेका छन् । हुन पनि सोलुखुम्बु जिल्लाको थामे गाउँका कामीरिता शेर्पाले सन् २०२४ को वसन्त ऋतुमा एकै सिजनमा दुईपटक सगरमाथा आरोहण गरेर २९ एवम् ३० औं पटक सगरमाथा आरोहण गरेका थिए भने उनै कामीरिता शेर्पाले यो वर्ष (सन् २०२५) को वसन्त ऋतुमा ३१ औं पटक सगरमाथा आरोहण गरेर गतवर्षको आफ्नै विश्व कीर्तिमान भंग गरेका छन् । अहिलेसम्म सगरमाथा आरोहणको सन्दर्भमा कामीरिता शेर्पाले ३१ औं पटक सगरमाथा आरोहण गरेर दुर्लभ विश्व कीर्तिमान कायम गरेका छन् । त्यस्तै सोलुखुम्बुकै पासाङदावा (पा दावा) शेर्पाले पनि यही वर्षको वसन्त ऋतुमा २९ औं पटक सगरमाथा हिमल आरोहण गरेर दोस्रो धेरैपटक सगरमाथा हिमाल आरोहण गर्ने पर्वतारोही बन्न सफल भएका छन् ।
जे होस्, भूगर्भविद् एवम् वैज्ञानिकहरुका अनुसार सगरमाथा हिमाल ‘ग्रे लाइमस्टोन’ले बनेको हो । साथै सगरमाथा हिमाल आजभन्दा एक करोड ५२–५३ लाख वर्षदेखि एक करोड ५९–६० लाख वर्षअघि उत्पत्ति भएको हो । टेथिस महासागर टेक्टोनिक प्लेट सर्ने–चल्ने क्रममा वा भनौं ‘अप–हिभल’ सिद्धान्तअनुसार सगरमाथा हिमालले अहिलेको रुपमा आकार लिएको हो । गुगल सर्च गरेर हेर्दा अहिले अस्तित्वमा नरहेको ‘टेथिस महासागर’ त्यो बेला आजको एसिया, उत्तर अफ्रिका, अरब मुलुक र भारत रहेको क्षेत्रसम्म पैmलिएको थियो । करिव ४०–४१ मिलियन वर्षअघि ‘टेथिस महासागर’ उत्तरतर्पm सर्दै गएर आजको आल्पस पर्वत मालाका साथै हिमालय पर्वत माला बनेको हो । त्यस्तै गरेर करिब ८०–८१ मिलियन वर्षअघिको समयमा आजको भारत ६,४०० किलोमिटर दक्षिणको युरेसिया प्लेटमा रहेको थियो ।
साथै सगरमाथा हिमाल आरोहणको इतिहास हेर्दाखेरि सन् १९२१ सम्म पुग्नुपर्ने हुन्छ । त्यसयता सन् २०२४ को वसन्त ऋतुसम्म नेपाललगायत विभिन्न देशका करिब आठ हजार पर्वतारोहीले १२–१३ हजार बढी पटक आरोहण गरेका छन् । त्यसको कारण भनेको माथि नै एक प्रसंगमा भनिएझैँ एकैजना पर्वतारोहीले एकभन्दा बढी पटक सगरमाथा आरोहण गरेका छन् । त्यसो त सगरमाथा हिमाल केवल आरोहीका लागि मात्रै आकर्षणको विषय नभएर सगरमाथा आरोहण गर्न अनुमतिपत्र वा भनौं परमिट जारी गरेबापत कमाइ गर्ने नेपाल सरकारका साथै सगरमाथा हिमाल आरोहण गराउने विभिन्न पर्वतारोही कम्पनीहरुका लागि पनि धेरै आकर्षणको विषय बनेको छ । यसो हुनुको कारण नेपाल सरकारले सगरमाथा आरोहण गर्न आउने विभिन्न देशका पर्वतारोहीबाट ठूलो मात्रामा सलामी दस्तुर संकलन गर्ने गर्छ ।
त्यस्तै विभिन्न देशका पर्वतारोहीहरुलाई सगरमाथा हिमाल आरोहण गर्न आकर्षित गर्दै विभिन्न सञ्चारमाध्यममा विज्ञापन निकालेर आह्वान गर्दै नेपालसम्म ल्याएर सगरमाथा आरोहण गराउने स्वदेशी तथा विदेशी पर्तारोहण कम्पनीले पनि ठूलो मात्रामा कमाइ गर्ने गरेको छ, सगरमाथामा हिमालबाट । त्यस्तै सगरमाथा आरोहीका साथमा जाने कुक, किचेन ब्वाइ, पोस्ट म्यान, एल्टिच्युड पोर्टर, सम्पर्क अधिकृत, लुक्ला तथा नाम्चेबजारबाट भारी खेप्ने–बोक्ने याक–नाक र चौंरीको गोठालोसमेत गर्दा कम्तीमा पनि २१÷२२ सय जनाले बर्सेनि राम्रै कमाइ गर्ने गर्छन् । त्यसो त नेपाल सरकारले सगरमाथा हिमाल आरोहण गर्न अनुमति जारी गरेबापत बर्सेनि ६५ देखि ७४ करोड रुपियाँ आम्दानी गरिरहेको देखिन्छ । यसरी हेर्दा सगरमाथाले मात्रै प्रत्यक्ष एवम् अप्रत्यक्षरुपमा बर्सेनि करोडौं रकम बराबरको विदेशी मुद्रा आर्जन गरिरहेको छ । तर, अब सगरमाथाको दीर्घायुका सम्बन्धमा पनि हामीले गम्भीर भएर सोच्ने बेला आएको छ है !
साभार: news of nepal








