यज्ञप्रसाद सापकोटा
बर्दिया ।
हरेक पालिकामा तीन हजार क्विन्टलको दरले धान खरिद गर्ने लक्ष्य राखेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय राजापुरले बर्दियाको बाँसगढी नगरपालिकामा पनि धान खरिद सुरु गरेको छ ।
किसानको धान खरिद गर्नका लागि नगरपालिकाले समन्वय र गोदाम घरको व्यवस्था गरेपछि खाद्यले धान खरिदको सुरुवात गरेको हो । खाद्यले गत शनिबार देखि बाँसगढीमा धान खरिदको सुरुवात गरेको हो ।
खाद्यले राजापुर, गेरुवा, बारबर्दिया र गुलरियामा धान खरिद गरिसकेको छ भने बढैयाताल गाउँपालिकामा मंगलबार देखि धान खरिद गर्ने सुचना निकालेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड राजापुरका कार्यालय प्रमुख कमल पाण्डे हाल सम्म १९ हजार आठ सय ४० क्विन्टल धान खरिद गरिएको बताउनु भयो । उहाँका अनुसार राजापुरमा १० हजार पाँच सय ६४, गेरुवाको शान्तीबजारमा चार हजार ८१ क्विन्टल, बारबर्दियाको जयनगरमा दुई हजार छ सय ५७ क्विन्टल, गुलरियामा दुई हजार चार सय ४४ क्विन्टल र बाँसगढीमा ९३ क्विन्टल धान खरिद गरिएको छ । खरिद गरिएको धान मध्ये १८ हजार एक सय १६ क्विन्टल मोटा धान रहेको छ भने एक हजार सात सय २४ क्विन्टल मध्यम धान खरिद गरिएको छ ।
यस अघि खाद्यले राजापुर र गेरुवामा मात्र धान खरिद गरेको भएपनि स्थानीय खरिद समितिले सबै पालिकामा तीन हजार क्विन्टलको दरले धान खरिद गर्ने निर्णय गरेपछि सबै पालिकामा धान खरिद गर्न थालिएको हो । जनशक्ती अभाव भएको हुनाले समयमा एकैपटक सबै पालिकामा धान खरिद गर्न नसकिएको कार्यालय प्रमुख पाण्डेले बताउनु भयो ।
सरकारले मोटा धानको समर्थन मुल्य ३४ सय ६३ रुपियाँ प्रतिक्विन्टल तोकेको छ भने मध्यम धान प्रतिक्विन्टल तीन हजार छ सय २८ रुपियाँ तोकेको छ । गत बर्ष खाद्यले ३७ हजार क्विन्टल धान खरिद गरेको थियो ।








