बाँसगढी ।
बर्दियाको बाँसगढी नगरपालिकामा जेष्ठनागरिक, अपाङ्गता भएका व्यक्ती, गरिब तथा विपन्न वर्गका नागरिकहरुलाई न्यानो कपडा वितरण गरिएको छ । बाँसगढी नगरपालिका र क्लोथ एण्ड फुड बैकको सहकार्यमा करिब एक हजार जनालाई न्यानो कपडा वितरण गरिएको हो ।
भिडियाे हेर्नुहाेस् ।
जाडोको समयमा कपडा किन्न नसक्ने र अरुको भर पर्नुपर्ने व्यक्तिहरूलाई कपडा वितरण गरिएको बाँसगढी नगरपालिकाका नगरप्रमुख खडक बहादुर खड्काले बताउनु भयो । नगरपालिकाले समन्वय गरेर क्लोथ एण्ड फुड बैंकले बर्दिया मै पहिलो पटक ठुलो संख्यामा न्यानो कपडा वितरण गरिरहेको उहाँले बताउनु भयो । नगरपालिकाका सम्पूर्ण वडामा गएर छनौट गरिएका विपन्न जेष्ठनागरिक र अपाङ्गता भएका नागरिकलाई कपडा वितरण गरिने छ । मंगलबार बाँसगढी नगरपालिकाको वडा नं ४,५ र ६ मा न्यानो कपडा वितरण गरिएको छ । बुधबार २,३,७,८ र ९ नं वडामा वडा कार्यालय मार्फत कपडा वितरण गर्ने र बिहिबार १ नं वडामा कपडा वितरण गर्ने योजना रहेको नगरप्रमुख खड्काले बताउनु भयो ।

न्यानो कपडा वितरण सँगै बर्दिया जिल्लामा पहिलो पटक कपडा बंैकको दान पेटिका समेत स्थापना गरिएको छ । घरमा काम नलाग्ने पुराना कपडा बैंकमा लगेर दान गर्ने र पछि बुटवलमा लगेर सफा गरि पुनः प्रयोग गर्न योग्य बनाई गरिब तथा विपन्न परिवारलाई वितरण गरिन्छ । हाल सम्म ९८ ओटा स्थानीय तहहरूसँग सहकार्य गरेर दुई सय सात ओटा स्थानमा कपडा दान पेटिका स्थापना गरिएको क्लोथ एण्ड फुड र्बैकका अध्यक्ष कमल जिसीले बताउनु भयो । शहरी र गाउँ क्षेत्रबाट निस्कने फोहोरको ठुलो हिस्सा पुराना कपडा भएको हुनाले त्यसलाई पुनः प्रयोगमा ल्याई देशबाट कपडामा बाहिरिने रकमलाई रोक्ने र विपन्न नागरिकलाई कपडा दिने योजनाका साथ बैंक सञ्चालनमा ल्याएको उहाँले बताउनु भयो ।


जाडो याममा न्यानो कपडा पाएपछि जेष्ठ नागरिक विपन्न वर्ग र अपांगता भएका व्यक्तिहरू हर्षित भएका छन् । बाँसगढी नगरपालिका वडा नं ५ कर्णाली टोलका उदयचन्द्र अधिकारीले नगरपालिका र क्लोथ एण्ड फुड बैंकले सञ्चालन गरेको कार्यक्रम अत्यन्त प्रभावकारी भएको बताउनु भयो । उहाँले अहिले सम्म यती ठुलो संख्यामा विपन्न नागरिकलाई कपडा वितरण नभएको बताउँदै हुँदा खाने र जाडोमा कपडा किन्न नसक्नेका लागि ठुलो राहत भएकोे बताउनु भयो ।
बर्दियामा पहिलो पटक बाँसगढीमा धेरै संख्यामा न्यानो कपडा वितरण गरिएको छ । संग संगै बाँसगढी बजारमा पुराना कपडा दान पेटिका राखिएको छ । दान पेटिमा संकलन भएका पुराना कपडा सफा गरेर पुनः प्रयोग गर्न योग्य बनाईने हुनाले नगरप्रमुख खड्काले सबैलाई पुराना कपडा ल्याएर कपडा बैँकमा दान गर्ने आग्रह गर्नुभएको छ ।









