बारबर्दिया ।
बर्दियाको बारबर्दिया नगरपालिकाका दुई स्थानमा गरिएको पशुपंक्षी स्वास्थ्य शिविरमा तीन हजार दुई सय ७६ ओटा पशुपंक्षीको उपचार गरिएको छ । बारबर्दिया नगरपालिकाका विकट क्षेत्र वडा नं ३ भैँसाखानी र वडा नं ११को बेलभारमा आयोजना गरिएको शिविरमा पाँच सय ६६ जना किसानले पशुपंक्षी ल्याएका थिए भने दुई सय ५८ जना किसानले परामर्श सेवा लिएका थिए ।
शिविरमा एक हजार एक सय ३५ ओटा बाख्रा, तीन सय ३० ओटा गाईभैँसी, एक सय २० ओटा बंगुर, र एक हजार छ सय ९१ ओटा कुखुरा र हाँसको उपचार गरिएको थियो । वडा नं ३ भैँसाखानीमा मा दुई सय ६८ र वडा न ११ बेलभारमा दुई सय ९८ जना किसानले पशुपंक्षी उपचारका लागि ल्याएको पशुसेवा शाखाका प्रमुख दिपक राज थापाले बताउनु भयो । उहाँले शिविरमा पशुपंक्षीहरूको स्वासथ्य जाँच, परिजिवि नियन्त्रण, भ्याक्सिन लगाएतका सुविधा दिईएको बताउनु भयो ।
शिविरले उपचार केन्द्र सम्म पुर्याउन नसकेका पशुहरूको उपचारमा सहज भएको बारबर्दिया नगरपालिकाका नगरप्रमुख छविलाल थारूले बताउनु भयो । उहाँले नगरपालिकाले सँधै किसानहरू कै पक्षमा काम गर्ने बताउनु भयो ।
बारबर्दिया नगरपालिका र शिविर हेफर इन्टरनेशनलको आर्थिक सहयोगमा थारू महिला उत्थान केन्द्रको सहजीकरणमा सञ्चालित कृषि तथा पशुविकासमा आधारित सानाकिसान तथा युवा उद्यमशिलता साझेदारी परियोजनाद्वारा शिविर सञ्चालन गरिएको थियो ।








