यज्ञप्रसाद सापकोटा
बर्दिया ।
बर्दियाको राजापुर नगरपालिकाले आर्थिक अवस्था कमजोर भएका सुनौलो हजार दिनका आमाहरूलाई आयआर्जनका लागि अनुदान दिएको छ । घरपरिवारले आयआर्जनका काम गरेर आमा र बच्चाको लागि पोषणयुक्त खाना खाउन् भन्ने उद्देश्यले आयआर्जनका लागि अनुदान सहयोग गरिएको हो ।
राजापुर नगरपालिका वडा नं १० मा रहेका आर्थिक अवस्था कमजोर भएका २८ जना सुनौलो हजार दिनका आमालाई जनही २५ हजारका दरले अनुदान दिइएको छ । अनुदान दिएको रकम तरकारी खेती, बाख्रापालन कुखुरा पालन लगाएतका व्यवसाय गर्नका लगाइने छ ।
आयआर्जन गरेर आर्थिक उपार्जन गरी पोषणको अवस्था सुधार गर्नका लागि अनुदान दिइएको राजापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश अर्यालले बताउनु भयो । उहाँले पोषिलो खानेकुरा उत्पादन हुने खालका काम गरुन् र आयआर्जनका काम गरेर आर्थिक अवस्था सुधार होस भनेर अनुदान दिएको बताउनु भयो ।

अभिमुखिकरण कार्यक्रममा राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश थारूले जे कामको लागि अनुदान दिएको हो त्यसैमा प्रयोग गर्न आग्रह गर्नु भयो । पोषण सुधार भएमा बालबालिकाको स्वास्थ्य राम्रो हुने हुँदा स्वस्थ बच्चा नै भविष्यमा अब्बल भएर निस्कने बताउनु भयो । उहाँले भन्नु भयो –'अनुदान रकम अरु ठाउँमा खर्च नगर्नु होला जे व्यवसाय गर्ने भनेर लैजानु भएको हो त्यही गर्नुपर्छ ।'
राजापुर नगरपालिकामा करिब १६ प्रतिशत बालबालिकाको कुपोषणको समस्याबाट ग्रस्त रहेका छन् । बालबालिकाको पोषणको सुधारका लागि सुत्केरी र गर्भवती महिलालाई ६० दिन सम्म हरेक दिन एक लिटर दुध नगरपालिकाले वितरण गर्दै आएको छ ।









