यज्ञप्रसाद सापकोटा
बर्दिया ।
बर्दिया पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको छ । बर्दिया जिल्लाका १६ महिना देखि २३ महिना सम्मका सम्पूणै बालबालिकाले खोप लगाएको हुनाले बर्दिया जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।
चालु आर्थिक वर्ष २०८२/०८३मा तोकिएको उमेरका सम्पूर्ण बालबालिकाले खोप लगाएको सुश्चित भएपछि बर्दिया आठ ओटै पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको थियो । सबै पालिका घोषणा भएपश्चात् अनुगमन र प्रक्रिया पुरा गरी प्रदेश खोप समन्वय समितिले बर्दिया जिल्लालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेको हो ।
१६ देखि २३ महिना सम्मका बालबालिकाले १५ महिना भित्र लगाइसक्नुपर्ने खोप लगाएको पाएपछि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको प्रदेश खोप समन्वय समितिका सदस्य सचिव रोशनलाल चौधरीले बताउनु भयो ।

पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा सभाका प्रमुख अतिथी मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटले बर्दिया जिल्लामा पूर्ण खोप सुनिश्चित गर्न चुनौतीपुर्ण हुँदा हुँदै पनि सबैको प्रयासले सफल भएको बताउनु भयो । उहाँले सिमावर्ती जिल्लामा पूर्ण खोप सुनिश्चित गर्न समस्या रहेको बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले खोपलाई स्थानीय तहको सेवा सुविधा सँग जोड्नु पर्ने बताउनु भयो । स्थानीय तह र वडाबाट सेवा लिँदा पूर्ण खोप लगाएको कार्ड मागेमा खोप नलगाउने प्रवृति हट्दै जाने बताउनु भयो ।

गुलरिया नगरपालिका वडा नं ६ का वडाध्यक्ष शुधांसु शर्माले भारतबाट नेपालमा विवाह भएका चेलीबेटी सुत्केरीमा माइत जाने भएकोले पूर्ण खोप लगाउन समस्या भएको बताउनु भयो । अझैपनि कतिपय समुदायले खोप लगाउन आनाकानी गर्ने र जबरजस्ती खोप लगाउनु पर्ने अवस्था रहेको बताउनु भयो ।









