यज्ञप्रसाद सापकोटा
बर्दिया
बर्दियाको राजापुर नगरपालिका कुष्ठरोगका बिरामी खोज्दै गाउँ गाउँ पुग्न थालेको छ । छाला सम्बन्धी समस्या भएका बिरामीहरूलाई स्वास्थ्य केन्द्रमा ल्याएर चेकजाँच गर्ने अभियान थालेको छ ।
गाउँ गाउँमा रहेका महिला स्वास्थ्य स्वयंसेवीका, वरघर, समाजसेवी र स्वास्थ्यकर्मी परिचालन गरेर छालाका समस्या भएका बिरामीलाई स्वास्थ्य संस्थामा ल्याउने गरिएको छ । बिरामीको छालाको उपचार सँगै कुष्ठरोगको पनि पहिचान गर्ने कार्यक्रम चलिरहेको राजापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेशप्रसाद अर्यालले बताउनु भयो । उहाँले समाजमा लुकेर रहेका कुष्ठरोगीहरूको खोजी र पहिचानका लागि छाला रोग उपचार शिविर राखिएको बताउनु भयो । उहाँले भन्नु भयो –"यसबाट छाला रोगका बिरामीहरूको उपचार पनि हुन्छ र कुष्ठरोगका लक्षण रहेका बिरामीको पनि पहिचान गरि उपचार गरिन्छ ।" उहाँका अनुसार यस अघि कुष्ठरोग फेला परेका स्थानमा विशेष जोड दिएर खोजपड्ताल गरिएको छ ।


हाल सम्म वडा नं १० र ५ गरि दुई स्थानमा शिविर सञ्चालन गरिसकिएको छ । जसमा दुई सय ५० जना बिरामी जाँच गरिएको छ भने दुई जना कुष्ठरोगका लक्षण भएका बिरामी फेला परेका छन् । उनीहरूलाई थप जाँचका गरिने स्वास्थ्य शाखा प्रमुख अर्यालले बताउनु भयो ।

राजापुरमा हाल नौ जना बिरामीले कुष्ठरोगको औषधी खाइरहेका छन् । कुष्ठरोगका बिरामी पत्ता लाग्ने र औषधी उपचार गर्ने क्रम चलिरहेको हुँदै पालिकाबाट छिट्टै नै कुष्ठरोग निर्मूल पार्ने योजना नगरपालिकाको रहेको छ ।








