यज्ञप्रसाद सापकोटा
बर्दिया ।
बर्दियाको राजापुर नगरपालिकाले चिसो पेय पदार्थमा प्रतिवन्ध लगाउने प्रस्ताव अगाडि सारेको छ । १० औं नगरसभामा प्रस्तुत भएको आर्थिकवर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रममा नगरपालिका अन्र्तगतका सरकारी कार्यालयहरूमा कोक फेन्टा जस्ता चिसो पेय पदार्थ प्रतिवन्ध लगाउने प्रस्ताव अगाडि सारेको हो ।
प्रस्तावित नीति तथा कार्यक्रममा चिसो पेय पदार्थलाई प्रतिवन्ध लगाएर स्थानीय कृषि र पशुजन्य उत्पादन प्रयोगमा ल्याइने उल्लेख गरिएको छ । नगरपालिकाले ल्याएको नीति तथा कार्यक्रमले किसानहरूलाई प्रत्यक्ष फाइदा पुग्ने देखिन्छ । नगरपालिकाले यस अघि पनि चिसो पेय पदार्थ भन्दा मोही, दही, लस्सीको प्रयोगलाई प्राथामिकता दिँदै आएको थियो ।

नगरपालिकाले ल्याएको नीति तथा कार्यक्रम किसान मैत्री भएको देखिन्छ । दुध उत्पादनलाई बजारीकरणका लागि स्थापित दुग्ध चिस्यान केन्द्रलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने, कृषि क्षेत्रलाई प्रतिस्पर्धी र उत्पादनमुखी बनाउने, दुग्ध मासु अण्डा तथा माछामा आत्मनिर्भरता बढाउने, प्रत्येक वडामा सङ्कलन केन्द्र तथा हाटबजार स्थापना गर्ने, कृषि एम्बुलेन्स सञ्चालन गर्ने, प्राङ्गारिक खेतीलाई प्रवर्द्धन गर्ने लगायतका नीति ल्याएको छ ।
राजापुर नगरपालिका वडा नं १० आनन्दनगरकी किसान ४८ वर्षीय दसनी थारूले नगरपालिकाले ल्याएको नीतिले किसानलाई फाइदा पुग्ने बताउनु भयो । उहाँले किसानको दूधले बजार नपाउने र विदेशी चिसो पेय पदार्थले बजार पाउने काम बन्द हुनुपर्ने बताउनु भयो ।

राजापुर नगरपालिकाका नगर उपप्रमुखले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा विशेषज्ञ तथा विशिष्टीकृत स्वास्थ्य सेवालाई सुदृढ गर्दै प्राथमिक स्वास्थ्य केन्द्रलाई यथाशीघ्र १५ शैयाको अस्पतालको रुपमा विस्तार गर्ने नीति उल्लेख गरिएको छ । नगरपालिकाले सिक्कलसेल एनिमिया र थालसेमिया रोगको रोकथाम, परिक्षण र निःशुल्क उपचार गर्ने नीति अगाडि सारेको छ । सर्पदंश उपचार केन्द्र स्थापना, सर्ने र नसर्ने रोगको रोकथाम र उपचार, लागूपदार्थ, सुर्तिजन्य पदार्थ र मदिराको बिक्री वितरण र प्रयोगलाई नियमन गर्ने , विपन्न समुदायका महिला तथा बालबालिकालाई पोषण सुधारका कार्यक्रम अगाडि बढाउने नीति अगाडि सारेको छ ।

त्यसैगरी अनिवार्य तथा निःशुल्क शिक्षालाई थप प्रभावकारी बनाउने, शिक्षक विद्यार्थी अनुपातलाई पुनरावलोकन गरिने, ए आई प्रविधि द्धारा शिक्षण सिकाइ कार्यक्रम सुरुवात गर्ने, र कक्षा आठ र १० का विद्यार्थीको सिकाइ उपलब्धि वृद्धिका लागि सुनौला ९० दिनको कार्यक्रम सञ्चालन गरिने, शिक्षक बैँकको स्थापना र पढ्दै कमाउँदै रमाउँदै कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । राजापुर नगरपालिकाका छ ओटा सामुदायिक विद्यालयलाई तीन ताराको स्तरमा पुर्याउने नीति ल्याइएको छ ।

युवाहरूलाई स्वरोजगार बनाउनका लागि स्थानीय स्रोत साधनको उपयोग हुने गरी परम्परागत पेशा र आधुनिक सिपको विकास हुने गरी तालिम सञ्चालन गर्ने नीतिमा उल्लेख गरिएको छ ।
नगरपालिकाले ल्याएको नीति तथा कार्यक्रम व्यवहारिक र जनमुखी भएको राजापुर नगरपालिका वडा नं ४ राजापुरका रामकुमारी चौधरीले बताउनु भयो । उहाँले नीति तथा कार्यक्रम स्पष्ट र सान्दर्भिक भएको बताउँदै सोही अनुसार बजेट विनियोजन गरी कार्यन्वयन तर्फ लैजानु पर्ने बताउनु भयो ।








