माला सापकाेटा
बढैयाताल ।
बर्दियामा सवारी दुर्घटनामा एकको मृत्यु भएको छ । बढैयाताल गाउँपालिका–३ भोलागौडी स्थित हुलाकी सडकखण्डमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बढैयाताल गाउँपालिका वडा नं २ निवासी ५५ वर्षीय मोटरसाइकल चालक गणेशप्रसाद पाण्डे रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा टाउको र पेटमा चोट लागि गम्भीर घाइते हुनुभएको उहाँलाई तत्काल उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज, बाँके पठाइएको थियो । उहाँलाई सोही अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए।
ठाकुरद्वाराबाट नेपालगञ्जतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको बिआर ०२ सि बि २५२८ नम्बरको कारले सोही दिशातर्फ जाँदै गरेको भे १४ प ८९८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
कार चालक बारबर्दिया नगरपालिका–३ निवासी २९ वर्षीय राघव ढकाललाई सवारी साधनसहित प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक रेशम बोहोराले बताउनु भयो ।








