यज्ञप्रसाद सापकोटा, बर्दिया ।
बर्दियामा उत्पादन भएको सुन कागती पहिलो पटक काठमाडौँ पठाइएकाे छ । गुलरिया नगरपालिका वडा नं ३ मा रहेको समावेशी कृषि फर्मले उत्पादन गरेको अर्गानिक सुन कागती पहिलो पटक सिधै काठमाडौं पुर्याइएको हो ।
फर्मले काठमाडौंको लागि २५ क्वीन्टल सुन कागती पठाइएको हो । सुन कागती खेती ११ विगहामा गरिएको छ । यस अघि गुलरिया नेपालगञ्ज लगाएतका स्थानीय बजारमा खपत भएकोमा हाल उत्पादन बढी भएको हुनाल काठमाडौँ पठाएको मधुवन नगरपालिका–४ का किसान कृषक सुरेश पन्थले बताउनु भयो ।
किसान पन्थले मधुवन नगरपालिका– ८ स्थित आफ्नै तीन बिगहा खेतमा परीक्षणको रुपमा सुन कागती खेती गर्दा राम्रो उत्पादन भएपछि गुलरिया नगरपालिका वडा नं ३ मा ८ बिगहा जग्गा भाडामा लिई सुन कागती खेती विस्तार गर्नु भएको छ । बाह्रैमासे सुन कागती लगाएको चौथो बर्ष देखि राम्रो उत्पादन हुन थालेको उहाँले बताउनु भयो । किसान पन्थका अनुसार कागती खेतीमा प्राङ्गारिक मल मात्र प्रयोग गरेको हुनाले अर्गानिक भएको दावी गर्नु भएको छ ।
अर्गानिक भएकोले छिट्टै नविग्रने हुनाले कागती व्यापारीहरू खेत मै पुग्ने गरेका छन् । यस वर्षको पहिलो लटमा खेतबाट प्रति किलोग्राम एक सय रुपैयाँको दरले २५ क्वीन्टल सुन कागती काठमाडौंको व्यापारीले लगेको कृषक पन्थले बताउनु भयो । उहाँले भन्नु भयो –æसिजनमा कागती प्रति किलोग्राम एक सयमा बिक्री हुन्छ, अफ सिजनमा प्रति किलोग्राम १ सय ५० देखि ४ सय रुपैयाँसम्ममा बिक्री हुन्छ । Æ कागतीको एउटा बोटले वार्षिक एक सय किलोग्राम सम्म उत्पादन दिने उहाँको भनाई छ । चार हजार ६ सय १० ओटा काागतीको बेटको लागि वार्षिक १० देखि १२ लाख सम्म खर्च हुने उहाँले बताउनु भयो ।
पछिल्लो समय भारतबाट न्युन रुपमा कागती आयात हुँदा स्वदेशी किसानलाई कागती बिक्री गर्न सहज भइरहेको दाङ लमही नगरपालिका–९ का कागती व्यापारी ललित चौधरीले बताउनु भयो । उहाँले भन्नु भयो –æयस अघि अरु जिल्लाबाट कागती खरिद गरी काठमाडौँ पठाएपनि बर्दियाको कागती पहिलो पटक लगेको छु ।Æ आर्गानिक कागती लामो समय नसड्ने भएकोले ग्राहकको पहिलो रोजाइमा पर्ने गरेको छ ।
कागती खेतीको सम्भावना देखेपछि बर्दियामा कागती खेती बढ्दै गएको छ । बर्दिया जिल्लामा प्रायः सुनकागती र थाइसिड्लेस जातका कागती खेती गर्ने गरिएको छ । सुनकागती ग्राहकले धेरै मन पराउने भएकोले सुनकागती संकलन भएमा जतिपनि काठमाडौँ पठाउने व्यापारीले बताएका छन् ।









