यज्ञप्रसाद सापकोटा,बर्दिया ।
बर्दियामा पहिलो पटक आफ्नै भवनबाट सञ्चालन भएको १५ शैयाको ठाकुरबाबा नगरअस्पतालले चार महिनामा १३ हजार ६ सय १९ जना बिरामीलाई सेवा दिन सफल भएको छ । नगरअस्पतालले पालिकाको विकट क्षेत्रमा भवन निर्माण गरेर सेवा दिन थालेपछि पछिल्लो समयमा सेवाग्राहीको संख्या बढ्दै गएको छ ।
गत बैशाखमा नयाँ भवनमा सञ्चालन भए देखि साउन मसान्त सम्म १२ हजार ६७ जना बहिरङ्ग, एक हजार एक सय ३५ जना इमरजेन्सी, ७१ जना अन्तरङ्ग सेवा, रेबिज विरुद्धको भ्याक्सिन दुई सय ८९ जना र विष सेवन गरेका १७ जनाको उपचार भएको छ । पालिकामा सबैलाई पाएक पर्ने स्थानमा अस्पताल स्थापना गरिएको हुनाले उपचार गराउन आउने बिरामीको संख्या बढ्दै गएको ठाकुरबाबा नगरअस्पतालका अध्यक्ष चिरञ्जिवि योगीले बताउनु भयो । उहाँले स्वास्थ्य बिमा गरेका सेवाग्राहीलाई समेत अस्पतालले सेवा दिएको हुनाले बिरामी संख्यामा बृद्धि भएको बताउनु भयो । हाल महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार विशेषज्ञ सेवा सञ्चालन भएको बताउँदै नगरअस्पतालमा आगामी भाद्र महिना देखि आँखा र दाँतको उपचार सेवा सञ्चालन गरिने जानकारी गराउनु भयो ।
ठाकुरबाबा नगरअस्पतालमा गत आर्थिक वर्ष २०८२ /८३ मा ओपिडीमा ३५ हजार पाँच सय ५६ भर्ना विरामी चार सय ६४ र इमरजेन्सी बिरामी दुई हजार नौ सय १७ जनाले सेवा लिएका थिए । त्यसैगरी आर्थिक वर्ष २०८१/८२ मा ओपिडिमा २४ हजार १७ इमरजेन्सीमा तीन हजार सात सय ७८ र बिरामी भर्ना दुई सय २६ जनाले सेवा लिएको अस्पतालका सूचना अधिकारी सुरेश चौधरीले बताउनु भयो । उहाँले भुरीगाउँ बजार भन्दा केही भित्र रहेकोले बिरामीलाई मध्येनजर गर्दै दुई ओटा निःशुल्क अटो समेत नगरपालिकाले सञ्चालन गरेको जानकारी गराउनु भयो ।
ठाकुरबाबा नगरअस्पताल सञ्चालनमा आएपछि उपचारका लागि सदरमुकाम गुलरिया, कोहलपुर र नेपालगञ्ज पुग्नुपर्ने बाध्यता हटेको छ । अस्पताल सञ्चालन हुन भन्दा अगाडि सामान्य सेवा लिनका लागि पालिका भन्दा बाहिर जान बाध्य थिए ।
अस्पतालबाट २४ सै घण्टा आकस्मिक कक्ष, बहिरंग सेवा, अन्तरंग सेवा, शल्यक्रिया कक्ष, गुणस्तरीय ल्याव, भेन्टिलेटर सहित सर्प दंशको उपचार सेवा, निःशुल्क शव वाहन तथा शव चिस्यान सेवा, रक्तसञ्चार सेवा सञ्चालनमा रहेको छ । ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलक लम्सालले अस्पतालमा एमडिजिपि डाक्टर राखेर नगरपालिकाका सबै वर्थिङ्गसेन्टरलाई एकिकृत गरि नगरअस्पतालमा शल्यक्रिया सहितको वर्थिङ्गसेन्टर सञ्चालन गर्ने योजना रहेको बताउनु भयो । उहाँले भन्नु भयो –æअब नगरवासीलाई १५ शैयाको अस्पतालले दिन सक्ने सेवा लिन बाहिर जानु नपर्ने बनाउँछौँ । Æ हाल अस्पतालमा दुई जना चिकित्सकले सेवा दिइरहेका छन् ।
१२ करोडको ८४ लाखको लगानीमा ठाकुरबाबा नगरपालिका वडा नं ३ नेउलापुरमा १५ शैया अस्पतालको भवन निर्माण भएपछि गत बैशाख देखि नगरअस्पताल सञ्चालनमा आएको थियो । स्थानीय तहमा १५ शैया सम्मको अस्पताल सञ्चालन गर्न सकिने नीति ल्याएको थियो । ठाकुरबाबा नगरपालिकामा २०७८ जेठ देखि नगरअस्पतालको निर्माण सुरु गरिएको थियो । दुई तले अस्पतालको भवन तीन ओटा ब्लक रहेका रहेका छन् । भवन सँग सँगै पार्किङ्ग, क्यान्टिन समेत निर्माण भएको छ ।









