यज्ञप्रसाद सापकोटा
बर्दिया ।
बर्दियाको गेरुवा गाउँपालिकामा समस्याग्रस्त पाटेबाघ नियन्त्रणमा लिइएको छ । गेरुवा गाउँपालिका वडा नं ४ गोला स्थित बस्ती नजिकैबाट वयस्क समस्याग्रस्त पाटेबाघ नियन्त्रणमा लिईएको हो ।
लामो समय देखि घरपालुवा जनावर माथी आक्रमण गर्ने, मानव वस्तीको छेउछाउमा देखा पर्ने गरेको थियो । करिब एक महिनाको प्रयासमा पाटेबाघ नियन्त्रणमा लिइएको बर्दिया राष्ट्रिय निकुञ्ज बन्जरीया पोष्टका रेन्जर रतिमान रावतले बताउनु भयो । उहाँले बस्ती नजिक बसेर दुःख दिने गरेकोले नियन्त्रणमा लिइएको जानकारी दिनु भयो । पाटेबाघ करिब ८ वर्षको भाले रहेको छ । बाघ नियन्त्रणमा लिन प्राविधिक उद्धार टोली, बर्दिया राष्ट्रिय निकुञ्ज, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोष वन कार्यालय तथा स्थानीयवासी लगायतको महत्वपूर्ण सहयोग रहेको उहाँले बताउनु भयो ।
दिनहुँ वस्ती नजिक आएर घरपालुवा जनावर खाने र दुःख दिने गरेको गेरुवा उपभोक्ता समितिका अध्यक्ष दिनेश बहादुर शाहीले बताउनु भयो । बाघ नियन्त्रणमा आएपछि सो क्षेत्रका स्थानीयवासी हर्षित भएका छन् । यस अघि बाघ त्रासमा बसिरहेका स्थानीयवासीलाई चैनको सास फेर्न पाएको अध्यक्ष शाहीले बताउनु भयो ।
नियन्त्रणमा लिएको बाघलाई रम्भापुर वन्यजन्तु उद्धार केन्द्रमा राखिने बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत अशोक कुमार रामले बताउनु भयो । यो सँगै बर्दिया राष्ट्रिय निकुञ्जको उद्धार केन्द्रमा ७ ओटा पाटेबाघ राखिएको छ । अब समस्याग्रसत बाघ फेला परेमा राख्ने ठाउँ नभएको उहाँले बताउनु भयो । यस अघि भदौ २ गते गेरुवा गाउँपालिका वडा ४ शान्तिपुरबाट वयस्क पाटेबाघ नियन्त्रणमा लिइएको थियो ।









