यज्ञप्रसाद सापकोटा,बर्दिया ।
भोटेकोसी र त्रिशुलीको बाढीमा परेका ४९ जना बर्दियाका बाढीपीडित घर फर्किएका छन् । बाढीग्रस्त क्षेत्रबाट उद्धार गरिएका बाढीपीडितहरू घर फर्किएका हुन् ।
जिल्ला प्रशासन कार्यालयका अनुसार बिहिबार सम्म बर्दियाका ४९ जना घर फर्किएका हुन् । घर फर्किनेमा बारबर्दिया नगरपालिकाका सबैभन्दा बढी रहेका छन् । नगरपालिकाले विभिन्न निकायसँग समन्वय गरेर निःशुल्क घर फर्कने व्यवस्था गरेको छ ।
बारबर्दिया नगरपालिककाले बाढीको जोखिमबाट उम्केर निराश भएर घर पुगेका बाढीपीडितहरू नगरपालिकाको स्वागतले केही राहत महसुस गरेका छन् । काठमाडौँबाट नगरपालिकामा ल्याएर उनीहरूलाई स्वागत गरी घर सम्म पुर्याउने काम गरेको बारबर्दिया नगरपालिकाले जनाएको छ । बाढीबाट उद्धार गरी काठमाडौँमा राखिएकालाई परिवारसँग पुर्नमिलन गराउन महत्वपुर्ण भूमिका खेलेको बारबर्दिया नगरपालिका वडा नं २ का ३८ वर्षीय कृष्णप्रसाद चौधरीले बताउनु भयो । नगरपालिकाले बाढीमा सम्पर्क विहिन रहेको परिवारलाई खोजविनको लागि सम्बन्धीत ठाउँमा जानका लागि प्रतिपरिवार १० हजार रुपियाँ सहयोग गरेको छ ।
जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार बर्दियाका बाढीबाट दुई सय ३९ प्रभावित भएका छन् । उनीहरू मध्ये हाल सम्म ४९ जना जिल्लामा फर्केका छन् । भने ७३ जना हाल सम्म सम्पर्क विहिन रहेका छन् । एक सय ३५ जना सँग परिवारको सम्पर्क भएको छ । दुई जना अस्पतालमा उपचाररत रहेको जिल्ला प्रशासन कार्यलयका प्रशासकिय अधिकृत लोकप्रसाद ढकालले बताउनु भयो । बाढीबाट उद्दार गरिएका व्यक्तहरू घर फर्कने क्रम चलिरहेको उहाँले बताउनु भयो ।
बारबर्दिया नगरपालिका वडा नं १ जमुनिया बस्ने सिमा थारूले बाढी पछि श्रीमान्सँग सम्पर्क हुन नसकेको गुनासो गर्नुभएको छ । रसुवामा काम गर्ने आशिष कुमार थारूले ९ गते घरमा सम्पर्क गरेको र त्यसपछि सम्पर्क हुन नसकेको गुनासो गर्नुभयो । उहाँले श्रीमान् जुनसुकै अवस्थामा भएपनि खोजी गरिदिन आग्रह गर्नुभएको छ ।








