यज्ञप्रसाद सापकोटा, बर्दिया ।
बर्दियामा भोटेकोसी बाढीबाट पीडित भएका बाढीपीडितको बर्दियामा राहत संकलन अभियान सञ्चालन भइरहेको छ । बर्दियाबाट संस्थागत र व्यक्तीगत रुपमा धमाधम प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा राहत रकम जम्मा भइरहेको छ ।
संस्थागत रुपमा जिल्ला प्रशासन कार्यालय मार्फत राहत रकम जम्मा गर्न थालिएको छ । मस्जिद तथा मुस्लिम समाज एवं महम्मदपुर वेयलफेयर ट्रस्ट २ लाख ५० हजार, इसाई समाज बर्दियाले चार लाख २० हजार, उद्योग वाणिज्य संघ गुलरिया, होटल अर्गनाइजेसन र महिला उद्यमी सँघ बर्दियाले संयुक्तरुपमा एक लाख साठी हजार, श्री कल्पतरु कृष्णसार कृषी सहकारी संस्थाले एघार हजार एक सय एघार रुपियाँ कोषमा जम्मा गरेको छ । त्यसैगरी गुलरिया नगरपालिकाले पाँचलाख, ठाकुरबाबा नगरपालिकाले नगरप्रमुख राहत कोषबाट एक लाख प्रधानमन्त्री राहतकोषमा जम्मा गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । त्यसैगरी मधुवन नगरपालिकका वडा नं ८ का स्थानीयले राहत संकलन गरी एक लाख ३६ हजार रकम राहत कोषमा रकम जम्मा गरेका छन् ।
नेकपा एमाले बर्दियाले गाउँ र वडा तह देखि नै सम्पूर्णलाई राहत संकलन गर्न आव्हान गरेको छ । नेकपा एमाले पार्टी बर्दियाका अध्यक्ष शालिकराम अधिकारीले जिल्लामा राहत संकलन गरी केन्द्रमा पठाइने र बाढीपीडितलाई राहत दिइने बताउनु भयो ।
जिल्लाका सबै पालिकाहरूले कार्यालयपालिका सदस्यबाट १० दिन बराबरको रकम राहत कोषमा जम्मा गर्ने निर्णय गरेका छन् । नगरपालिकका स्तरबाट करारमा कार्यरत कर्मचारीले समेत राहतकोषमा पारिश्रमिक कटौती गरेर राहत कोषमा जम्मा गर्ने निर्णय भएको छ ।
बर्दियाको बंगलामुखी राधाकृष्ण थारू माध्यमिक विद्यालय गुलरियाका विद्यार्थीहरूले आफ्नो खाजा खर्च कटाएर १५ हजार तीन सय रुपियाँ कोष जम्मा गरेका छन् । बर्दिया जिल्लाका विभिन्न स्थानबाट राहत संकलन गरि राहतकोषमा जम्मा गर्ने कार्य सञ्चालन भइरहेको छ । गाउँ गाउँमा राहत संकलन गर्ने र कोषमा रकम जम्मा गरिरहेको जानकारी आएको छ ।
अधिकांश नागरिकले स्वस्फुर्त रुपमा रकम जम्मा गर्ने गरेको बताउँदै केहीले मात्र जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएर रकम जम्मा गरिरहेको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकिय अधिकृत लोकप्रसाद ढकालले बताउनु भयो ।








