यज्ञप्रसाद सापकोटा,बर्दिया
भोटेकोशी बाढीपछि बेपत्ता भएका बर्दिया ७६ जनाको खोजीका लागि बर्दियामा ५५ जनाको डिएनए परिक्षणका लागि रगतको नमुना संकलन गरिएको छ । आफन्तको खोजीका लागि भौतारिरहेका बर्दिया बाढीमा सम्पर्क बिहिन भएका व्यक्तीका परिवारले आज डिएनएका लागि रगत दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय बर्दियाले आइतबार सम्पर्कविहीन व्यक्तिका आफन्तको डीएनए परीक्षणका लागि नमुना संकलनका लागि आव्हान गरेको थियो । सोही अनुसार सम्पर्क विहिन आफन्तले रगतको नमुना दिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार सम्पर्कविहिन ७६ जना मध्ये बर्दियामा ५५ जना, नेपाल प्रहरी अस्पतालममा १० जना, बाँकेमा तीन जना, चितवन र रसुवामा एक एक जनाको डिएनए परिक्षणका लागि नमुना संकलन भएको छ । चार जना सम्पर्कबिहिनको हकमा सम्बन्धित परिवार साग सम्पर्कको लागि कोसिस भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी रेशम बोहराले बताउनु भयो । उहाँले दुई जना बालबालिका बाबु आमा सहित बेपत्ता रहेकोले एउटै नमुनाले काम गर्ने बताउनु भयो ।
डीएनए नमुना दिएपछि सम्पर्कविहिनका परिवारले आफ्नो मान्छे फेला पर्नेमा ढुक्क रहेका छन् । बारबर्दिया नगरपालिका वडा नं १ जमुनियाका मान बहादुर थारू डिनए परिक्षण पछि छोरा भेटिनेमा ढुक्क रहेको बताउनु भयो । सम्पर्कविहीनका आफन्तहरू परिचय खुल्ने कागजात लिएर नमुना संकलनको लागि आइतबार जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए ।








