यज्ञप्रसाद सापकोटा,बर्दिया ।
बर्दियाका सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएका व्यक्तिका परिवारले नयाँ सरकारले पनि आफ्नो पीडा नबुझेको गुनासो गरेका छन् । उनीहरू सरकार समक्ष आफ्ना बेपत्ता पारिएका व्यक्तिको अवस्था पत्ता लगाइदिन माग गरेका छन् ।
१६ औँ अन्तराष्ट्रिय बेपत्ता दिवसको अवसरमा बर्दियाको गुलरियामा भएको अन्तरक्रिया कार्यक्रममा पीडितहरूले पुराना पार्टीले वेवास्ता गरेकै कारणले नयाँ पार्टीलाई जिताएर पठाउँदा समेत आफ्ना मुद्दा ओझेलमा परेको गुनासो गरेका छन् ।
२०६३ सालमा विस्तृत शान्ति सम्झौता भएदेखि बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था पत्ता लगाइदिनका लागि माग गरेपनि हाल सम्म पुरा नभएका पीडितहरूले बताएका छन् । बर्दिया बढैयातालकी बेपत्ताकी श्रीमती जुना सापकोटाले पुराना दलले बेपत्ताको मुद्दा सम्बोधन नगरेकै कारणले नयाँ दललाई जिताएर पठाएको बताउँदै बिनाकारण बेपत्ता पारिएका व्यक्तिहरूका छानविन आयोग विगठन गरेको गुनासो गर्नुभयो । उहाँले भन्नु भयो –"आयोग विगठन पश्चात् बेपत्ता परिवारका मुद्दाहरू ओझेलमा परेका छन्, कामले तिव्रता लिएको समय मै आयोग विगठन भएको छ । फेरिपनि हाम्रा समस्या समाधान हुँदैनन् की डर लागेको छ ।"

बारबर्दिया नगरपालिका बस्ने बेपत्ताकी श्रीमती देविसरा वलीले अझ पनि समस्या समाधान नभएमा आगामी चुनाव बहिष्कार गर्ने बताउनु भयो । उहाँले भन्नुभयो –"हाम्रो समस्या कसैले समाधान नगर्ने हो आगामी चुनाव द्वन्द्वपीडित परिवार सबै मिलेर बहिस्कार गर्छौँ, समाजमा नेताहरूलाई छिर्न दिँदैनौँ ।"

कार्यक्रममा सहभागी पीडितहरूले अहिलेको सरकारले बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्नेमा ढुक्क रहेको बताएका छन् । कार्यक्रममा सहभागी राजनीतिकदलका वक्ताहरूले लामो समय देखि पीडामा रहेका बेपत्ता परिवारलाई न्याय र परिपूरणको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।

अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशकी कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्री कृष्ण कुस्मा थारूले आँफु पनि बेपत्ता पारिएका व्यक्तिको परिवारको भएकोले बेपत्ताको समस्याको समाधानमा सकेसम्म लाग्ने बताउनु भयो । उहाँले बेपत्ताको परिवारको प्रतिनिधिको रुपमा अहिले मन्त्री भएको बताउँदै कृषि क्षेत्रमा द्वन्द्वपीडितको विशेष ग्राह्यता दिने गरी कार्यक्रम ल्याउने बताउनु भयो ।

दिवसको अवसरमा द्वन्द्वपीडित समितिको अगुवाइमा बर्दिया जिल्लामा र्याली सहित अन्तरक्रिया कार्यक्रम गरिएको थियो । बेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोगको तथ्याङ्क अनुसार नेपालमा दुई हजार छ सय ४० जना व्यक्ति बेपत्ताका उजुरी दर्ता भएका छन् जसमध्ये सबैभन्दा बढि बर्दियाबाट दुई सय ६१ जना बेपत्ता पारिएको उजुरी दर्ता भएका छन् । शान्ती सम्झौता पश्चात् बर्दियाका द्वन्द्वपीडितहरू संगठित भएर आफ्ना मुद्दा उठाइरहेका छन् ।









