केशव काेइराला, बर्दिया । बर्दियाको राजापुरमा थारू कला, संस्कृति, भाषा, संगीत तथा स्थानीय प्रतिभाको प्रवर्द्धन गर्ने उद्देश्यले ‘आरके थारू तथा सांघाती–दशैँ सांस्कृतिक महोत्सव २०८३’ आयोजना हुने भएको छ। मीटुअस घोंगी स्टेसन प्रालिको आयोजनामा आगामी २०८३ कात्तिक २ गते राजापुरमा सांस्कृतिक महोत्सव आयोजना गर्न लागिएको हो।
महोत्सवको तयारी, उद्देश्य, कलाकारहरूको सहभागिता तथा कार्यक्रमका विविध पक्षबारे जानकारी दिने उदेश्यले आज पत्रकार सम्मेलनको आयोजना गरिएको छ । ‘संस्कृतिको झन्कारसँगै मानव सेवा र परोपकार’ भन्ने मूल सन्देशका साथ आयोजना हुन लागेको महोत्सवमा लोकप्रिय थारू गायक तथा गीतकार आरके थारू र सांघाती ब्यान्डको विशेष सांगीतिक प्रस्तुति रहने आयोजक पक्षका टिकाराम चौधरीले जानकारी दिनुभयो । कार्यक्रममा गायिका तथा मोडल अञ्जु कुर्मी (फुलकुमारी), मोडल मधु चौधरी तथा प्रस्तोता एवं गायक अनुप मगरलगायत कलाकारहरूको सहभागिता रहनेछ।
थारू समुदायको मौलिक पहिचानको संरक्षण, स्थानीय कला, संस्कृति तथा परम्पराको प्रवर्द्धन र युवा पुस्तालाई आफ्नो भाषा तथा संस्कृतिसँग जोड्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको सल्लाहकार एवं बरघर रेस्टुरेन्ट काठमाण्डुका संचालक सिताराम थारुले बताउनुभयो । स्थानीय कलाकारलाई व्यावसायिक मञ्च प्रदान गर्नुका साथै मनोरञ्जनमार्फत सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिइने बताइएको छ। विशेषगरी रसुवा बाढीपहिरोबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले महोत्सवलाई मानवीय सेवा, सामाजिक एकता र परोपकारी भावनाको प्रवर्द्धनसँग जोडिएको आयोजकको भनाइ छ।
आयोजकका अनुसार महोत्सवले थारू समुदायको मौलिक सांस्कृतिक पहिचानको संरक्षण, स्थानीय कलाकारको प्रतिभा उजागर तथा नयाँ पुस्तामा भाषा, संस्कृति र परम्पराप्रतिको आकर्षण बढाउन महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।








