ज्ञानेन्द्र पोखरेल/बढैयाताल
बढैयाताल गाउँपालिका वडा नं ६ भित्र रहेका ५ ओटा सहकारीले एकै पटक मल वितरणका लागि गत साउन २७ गते सुचना जारी गरे । बिहिबार राती २ बजे देखि कृषकहरू मल खरिद गर्नका लागि लाइनमा बसे । प्रति किसान २५ किलोग्राम मल उपलब्ध गराउने सूचना जारी गरेको भएपनि अत्याधिक चाप भएपछि मल वितरण नै गरिएन । आधा रात देखि लाइनमा बसेका किसानहरू रित्तो हात फर्कन बाध्य भए । तोके अनुसार किसानहरूलाई मल उपलब्ध गराउन नसक्ने भएपछि अर्को सूचना नआउँदा सम्म मल वितरण गर्न बन्द गरेको मैनापोखर भविष्य साझा कृषि सहकारी संस्थाका अध्यक्ष हरिहर चौधरीले बताउनु भयो ।

“आधारात देखि मलको लागि लाइन बसेपनि रित्तो हात फर्कन पर्यो ।”बढैयाताल गाउँपालिका ६ मैनापोखरका जगतु थारूले खबरसन्देशलाइ भन्नु भयो । – “आज मल लगेर खेतमा हाल्छु भन्ने ढुक्क थियो सपना नै भयो ।”
रासायनिक मलको चरम अभाव भएपछि किसानहरू नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएर बिरोध समेत गर्न थालेका छन् । रासायनिक मलको सहज आपूर्ति गर्नुपर्ने माग सहित किसानहरुविरोधमा उत्रन थालेका छन् ।








