यज्ञप्रसाद सापकोटा, बर्दिया । भारतीय ठगको जालोमा परेर नेपाली फस्न थालेका छन् । ह्वाट्सएप मार्फत नेपालीलाई ट्रयापमा पारेर नेपाली बैंकमा खाता खोल्न लगाइ भारतीय ठगहरूले नेपालीलाई पनि ठग बनाइरहेका छन् । सोही क्रममा बर्दिया जिल्लामा तीन जना युवाहरू ठगि मुद्दाको आरोपमा पक्राउ परेका छन् ।
मधुवन नरपालिकामा बस्ने (नाम ठेगाना गोप्य राखिएको ) एक महिलालाई गत असार ३२ गते भारतीय ह्वाट्सएप नम्बरबाट फोन आउँछ । सुनका गहना सहितको उपहार चिठ्ठामा परेको र भन्सार बापतको रकम २५ हजार रुपियाँ पठाउनका लागि बंैक खाता र क्यु आर नम्बर पठाइन्छ । रकम नपाठाएमा र कोही कसैलाई जानकारी दिएमा नग्न फोटो र भिडियो बनाएर श्रीमान् र आफन्तलाई पठाउने धम्कि पनि आउँछ । पीडित महिलाले बेइज्जत हुने डरले भारतिय ठगले दिएको चार जना नेपाली कै खातामा तीन लाख ८५ हजार रकम पठाउनु हुन्छ । जसमध्ये एक खाता थियो बारबर्दिया नगरपालिका वडा नं ६ बस्ने जगतराम थारुको । रकम माग्ने क्रम नरोकिएपछि ठगि भएको भन्दै इलाका प्रहरी कार्यालय ढोढरीमा उहाँले उजुरी दिनुहुन्छ ।
उजुरीको आधारमा बारबर्दिया नगरपालिका वडा नं ६ का जगतराम थारू पक्राउ परेपछि उहाँको बयानको आधारमा टोलीका मुख्य व्यक्ति बारबर्दिया नगरपालिका वडा न ं११ बस्ने बिनामिन वि.क. र सोही ठाउँ बस्ने अर्का व्यक्ति बिर बहादुर सुनार पक्राउ परेका छन् ।
ठगिको जालोमा संलग्न नेपालका मुख्य व्यक्ति बिनामिन वि.क. भएको प्रहरीले जनाएको छ । वि.क.को बयानका अनुसार करिब ६ महिना अगाडि युट्युवमा गरिबहरूलाई सहयोग गर्ने भन्दै गरेको भिडियो हेरर हर्स साइ नाम गरेको भारतिय ह्वाट्सएपमा जोडिनुहुन्छ । २० जना मान्छेको खाता खोलेमा २५ लाख सम्म पाउने प्रलोभनमा परि आफ्नो सहित ९ जनाको नाममा एकसय ३७ वटा बैंक खाता र मोबाइल बैंकिङ्ग, १० – १० ओटा इसेवा र खल्ती खाता खोली भातिय व्यक्तीलाई आईडी पासपोर्ट दिनुहुन्छ । जसबापत पाँच लाख रकम भारतिय व्यक्तिबाट बुझेको उहाँले बयानमा खुलेको छ । वि.क.को घरबाट १३ ओटा सिमकार्ड, चेकबुक ११ ठेली र ५ ओटा एटिएमकार्ड फेला परेको इलाका प्रहरी कार्यालय ढोढरीका प्रहरी निरिक्षक महेन्द्र शेनले बताउनु भयो ।
बि.कको प्रलोभन पारेपछि छिमेकी नातेदार विरबहादुर सुनारले ४ जना आफन्त र छिमेकिको नाममा ६८ ओटा खाता र मोबाइल बैंकिङ्ग खोली भारतीय व्यक्तिलाई पठाई दुई लाख रुपियाँ बुझेको अनुसन्धानमा खुलासा भएको छ । अर्का जगत राम थारुले पनि ६८ वटा खाता र मोवाईल बैंकिङ्ग खोली एक लाख ५० हजार बुझेको खुलासा भएको छ । तीन जनाले १५ जना व्यक्तीको नाममा २३९ भन्दा बढी बैंक खाता खोलेको अनुसन्धानबाट खुलासा भएको छ । त्यसैगरी हरेक व्यक्ति नाममा १०–१० ओटा इसेवा र खल्ती खाताहरू पनि खोलीएको छ । आरोपिहरूलाई ठगि मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान जारी राखिएको छ ।
ठगीको भारतमा रहेको मुख्य व्यक्ती समक्ष भने प्रहरी पुग्न नसके पनि गिरोहले फसाएको बर्दियाको मुख्य व्यक्तिलाई पक्राउ गरि जालो तोडेको छ । यदी भारत सरकारले सहयोग गरेमा भारतीय ठग समक्ष पनि पुग्न सकिन्छ तर ठगी मुद्दा कै लागि भारतीय पक्षको सहयोग पाइएला भन्ने आशा छैन ।
नेपाली नम्बरबाट खोलीएका ह्वाट्सएप जुनसुकै ठाउँमा पनि चल्नाले पनि ठगहरूले सहजै ठग्न सकेका छन् । त्यसैगरि मोबाईल बैंकिङ्ग जुनकसुकै देशबाट बिना सिम चल्नाले पनि ठगहरू नेपालीलाई सहजै ठगिरहेको अनुसन्धानमा संलग्न प्रहरी निरिक्षक सेनले बताउनु भयो । उहाँले भन्नुभयो – “नेपालका मोबाइल बैंकिङ्गबाट भारत लगाएतका देशबाट कारोबार हुँदा समेत बैँकहरुले थाहा नपाउनु वा ग्राहकलाई थाहा नदिनु ठगीलाई बढावा दिनु हो । जुन सिमबाट मोबाइल बैंकिङ्ग चलिरहेको छ त्यही सिम भएको मोबाइलमा मात्र मोबाइल बैंकिङ्ग चल्ने हो भने पनि ठगिलाई न्यूनीकरण गर्न सकिने उहाँको भनाई छ ।








