मधुवन ।
सरकारले तोकेको समर्थन मुल्यमा व्यापारीहरूले धान खरिद नगरेपछि कृषकहरूलाई राहत होस भनेर मधुवन नगरपालिका भित्रका चार ओटा सहकारी संस्थाहरूले समर्थन मुल्यमा धान खरिद गरेका छन् । मधुवन नगरपालिकाले धान खरिद र भण्डारणका लागि अनुदान सहयोग गरेपछि सहकारीहरूले धान खरिद गरेका हुन् ।
मधुवन नगरपालिकाले धान खरिदको अवस्था हेर्नका लागि चार ओटै सहकारी संस्थाको अनुगमन गरेको छ । नगरपालिकाले धान खरिद गरिरहेका शिव बहुउद्देश्यिय सहकारी संस्था, ढोढरी सानाकिसान कृषी सहकारी संस्था, ताराताल सानाकिसान कृषी सहकारी संस्था र सानोश्री सानाकिसान कृषी सहकारी संस्थाको अनुगमन गरेका छन् । अनुगमनको क्रममा शिव बहुउद्देश्यिय सहकारी संस्था र ताराताल सानाकिसान कृषी सहकारी संस्थाले धान खरिद गरिरहेको पाईएको छ भने ढोढरी सानाकिसान कृषी सहकारी संंस्था र सानोश्री सानाकिसान कृषी सहकारी संस्थाले गोदाम अभावको कारणले धान खरिद रोकेको पाईएको छ । धान खरिद रोकेका सहकारी संस्थाहरूले गत बर्षको धान नबिकेको कारणले गोदाम भरिएको हुँदा धान खरिद नगरेको बताएका छन् । धान बिक्री गर्न नसकिने भएकोले धान खरिद गर्न रोकेको ढोढरी सानाकिसान कृषी सहकारी संस्था खरिद समितिकी सदस्य निर्मलादेवी वलीले बताउनु भयो । उहाँले यस बर्ष १३ सय क्विन्टल धान खरिद गरेको बताउनु भयो ।

सानोश्री सानाकिसान कषी सहकारी संस्थाका अध्यक्ष दिलाराम जैसीका अनुसार गत बर्षको धान बिक्रि नभएको हुनाले धान खरिद गर्न नसकीएको हो । गत बर्ष कै धान नबिकेर स्टक रहेको र गोदाम पनि खाली नभएको हुनाले खरिद गर्न नसकिएको बताउनु भयो । उहाँले २३ सय क्विन्टल खायन धान र १२ सय क्विन्टल विउ धान खरिद गरेको बताउनु भयो ।
ताराताल सानाकिसान कृषी सहकारी संस्था धान खरिद समितिका सदस्य रामबाबु सुवेदीले ताराताल सानाकिसानले ७ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको जसमध्ये पाँच हजार क्विन्टल भन्दा बढि खायन धान खरिद गरिसकेको बताउनु भयो । गत बर्षको धान समेत बिक्री नभएकोले यस बर्षको धान बेच्नका लागि चुनौती रहेको बताउनु भयो ।

शिव बहुउद्देश्यिय सहकारी संस्थाका अध्यक्ष सिताराम चौधरीले २५ सय क्विन्टल धान खरिद गरेको र ६ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य रहेको बताउनु भयो । बेच्न निक्कै समस्या हुने देखिएको उहाँले बताउनु भयो ।
नेपाल सरकारले सहकारीलाई धान खरिद गर्दा दिईने अनुदान प्रति क्विन्टल एक सय १२ रुपैयाँ उपलब्ध गराउने गरी चार ओटा सहकारीलाई धान खरिदको जिम्मा दिईएको बताउनु भयो । उहाँले हाल सम्म ११ हजार क्विन्टल भन्दा बढी धान खरिद भएको बताउनु भयो ।

अनुगमनमा धान खरिद गरिरहेका सहकारीहरूले धान बिक्रिका लागि पहल गरिदिनहुन नगरप्रमुख समक्ष आग्रह गरेका छन् । गत बर्षपनि खरिद गरेको धान बिक्रि नभएको र यस बर्ष पनि बिक्रि गर्न समस्या हुने देखिएको उनीहरूले बताएका छन् ।
मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटले धान बिक्रिका लागि व्यापारी, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सँग अनुरोध गरेको उहाँले बताउनु भयो । सरकारसँग कम्पनीको कोटा बढाउनका लागि माग गरेको बताउँदै उहाँले भन्नु भयो – “समर्थन मुल्य तोक्ने मात्र होइन सरकारले खरिद गरिएको धानको व्यवस्थापन गर्न पनि पहल गर्नुपर्यो ।”
मधुवन नगरपालिकाले सरकारले तोकेको समर्थन मुल्यमा खाद्य तथा व्यापार कम्पनीले धान खरिद गर्न भन्दा अगाडि नै सहकारीहरूलाई धान खरिद गर्न लगाएको थियो । गत बर्ष पनि मधुवन नगरपालिकाले अनुदान रकम दिएपछि सहकारीहरूले धान खरिद गरेका थिए ।








