यज्ञप्रसाद सापकोटा
बर्दिया । बर्दियाको राजापुरमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले उत्पादन गरेको चामल बिक्रि नहुँदा नयाँ धान राख्न समस्या भएको छ । खाद्यमा गत बर्ष खरिद गरेको धान प्रशोधन गरेको २५ हजार क्विन्टल चामल र प्रशोधन गर्न बाँकी २० हजार क्विन्टल धान गोदाममा हुँदा खरिद गरेको धान राख्न समस्या भएको छ ।
राजापुर खाद्यमा ५० हजार क्विन्टलका पाँच वटा गोदाम रहेका छन् । जसमध्ये दुई ओटा गोदाममा चामल र दुई ओटा गोदाममा पुरानो धान राखिएको छ । एक गोदाममा १० हजार क्विन्टल मात्र धान राख्न सकिन्छ ।
समयमा चामल बिक्रि नहुँदा सबै गोदाम चामल र पुरानो धानले भरिएको कम्पनी राजापुर शाखाले जनाएको छ । २५ हजार क्विन्टल मध्ये पोषण युक्त चामल १० हजार क्विन्टल चामल रहेको छ । दुर्गम क्षेत्रमा पर्ने हिमाली र पहाडी जिल्लामा बिक्री गर्नका लागि पोषणयुक्त चामल उत्पादन गर्दै आएको छ । पछिल्लो समयमा बर्दिया कारगारमा र स्थानीय बजारमा समेत पोषणयुक्त चामल बिक्रि गर्न सुरु गरिएको छ ।
अघिल्लो आर्थिक बर्ष कै चामल नबिकेर गोदाममा राखिएको र गरेर राखिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय राजापुरका प्रमुख कमलराज पाण्डेले बताउनु भयो । सरकारले तोकेको दरमा धान खरिद गर्दा खरिद मुल्य नै बढी हुँदा बिक्रि मुल्य पनि बढि रहेको हुनाले स्थानीय बजार भन्दा चामल मंहगो भएको उहाँले बताउनु भयो । स्थानीय व्यापारीले धान सस्तोमा खरिद गर्ने , बिक्रि पनि सस्तोमा गर्ने र अन्र्तराष्ट्रिय बजार मुल्य पनि सस्तो भएको हुनाले खाद्यको धान बिक्री नभएको प्रमुख पाण्डेले बताउनु भयो । चामल नबिक्दा राजापुरको गोदाम भरिएको छ भने खाद्यका अरु स्थानका गोदाम र डिपोहरू खाली नभएको उहाँको भनाई छ ।
नयाँ धान खरिद गरि राख्नका लागि १० हजार क्विन्टल धान राख्न सकिने गोदाम मात्र खाली रहेको छ । तर राजापुरमा नै ११ हजार क्विन्टल भन्दा बढि धान खरिद हुने अनुमान खाद्यको रहेको छ । पालिकाहरूमा खरिद गरिएको धान राख्नका लागि पालिकालाई नै गोदाम उपलब्ध गराउन भनिएको छ । पालिकाले व्यवस्था गरेका गोदाममा राख्ने र खाद्यका गोदाम खाली भएपछि मात्र ल्याउने योजना रहेको प्रमुख कमलराज पाण्डेले बताउनु भयो । उहाँले भन्नु भयो –“गोदाम खाली भएको भए पालिकाहरूमा खरिद गरेको धान तुरुन्त ल्याउन हुन्थ्यो तर ठाउँ नभएको हुनाले जोखिम मोलेर पालिकाले व्यवस्था गरेको गोदाममा राख्नु पर्ने भयो । ” बर्दियाको हरेक पालिकामा तीन हजार क्विन्टल किसानको धान खरिद गर्ने गरि स्थानीय खरिद समितिले निर्णय गरेको छ । जसअनुसार जुन जुन पालिकाले गोदामको व्यवस्था गरेका छन् सोही स्थानमा खाद्यले धान खरिद गरिरहेको छ ।
हाल बर्दियाको राजापुर, गेरुवाको शान्तिबजार, बारबर्दियाको जयनगर र गुलरियामा धान खरिद गरिरहेको छ । हाल सम्म खाद्यले बर्दिया जिल्लामा १८ हजार क्विन्टल भन्दा बढि धान खरिद गरिसकेको छ ।








