बढैयाताल ।
बर्दियाको बढैयाताल गाउँपालिका वडा नं ८मा रहेको श्री विद्याज्योती नमुना माध्यमिक विद्यालय कण्ठपुरले ५० औँ स्वर्ण महोत्सवको तयारी तिव्र पारेको छ । विद्यालयले पत्रकार सम्मेलनको आयोजना गर्दे स्वर्ण महोत्सवको अवसरमा आगामी १८गते सम्म गर्ने कार्यक्रमको बारेमा जानकारी गराएको छ ।
विद्यालयले स्वर्ण महोत्सवको अवसरमा गर्ने विभिन्न कार्यक्रमको बारेमा पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । विद्यालयका प्रधानाध्यापक भक्तिसागर रेग्मीका अनुसार आगामी पुष ४ गते आधारभुत (१–५) तह विदालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता, ६ देखि ८ गते सम्म माध्यमिक विद्यालय स्तरीय भलिबल प्रतियोगिता, ९ गते माध्यमिक विदालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता हुनेछ । १० गते देखि १३ गते सम्म विद्यालयका आन्तरिक खेलकुद प्रतियोगिता, १४ गते साँस्कृतिक कार्यक्रम, १५ गते स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम र खाद्य महोत्सव सञ्चालन हुने छ । पौष १६ गते पूर्व विद्यालय व्यवस्थापन समिति पूर्व विद्यार्थिै मिलन तथा बृहत अभिभावक भेला तथा अनुभव आदान प्रदान कार्यक्रम, विदालयको ऐतिहासिकताको प्रस्तुति र सम्मान पत्र वितरण कार्यक्रम हुने छ भने १७ गते मूल स्वर्ण महोत्सव समारोह समुद्घाटन, स्वर्णस्तम्भ र सरस्वती मन्दिर अनावरण, स्वर्ण स्मारिका विमोचन र दाताहरूलाई सम्मान लगाएतका विविध कार्यक्रमहरू हुने प्रधानाध्यापक रेग्मीले जानकारी गराउनु भयो । त्यसैगरी १८ गते ५१ औँ वार्षिकोत्सव कार्यक्रम, सम्मान पत्र तथा विविध पुरस्कार वितरण कार्यक्रमको आयोजना गरिने उहाँले बताउनु भयो ।

स्वर्ण महोत्सव सञ्चालनका लागि पूर्व विद्यार्थी, अभिभावक, समाजसेवीहरूको सहयोग आउने क्रम बढ्दै गएको छ । त्यसैगरि स्वर्ण महोत्सवका अवसरमा विद्यालयमा विभिन्न शिर्षकका लागि अक्षयकोष स्थापना गर्ने क्रम बढ्दै गएको छ ।
हाल सम्म पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं समाजसेवी रामचन्द्र थापाले दुई लाख पाँच हजार पाँच रुपियाँ, प्रधानाध्यापक भक्तीसागर रेग्मीले माता पिताको स्मृतीमा एक लाख २१ हजार एक सय २१, पूर्व विद्यार्थी तथा शिक्षक राधा तिवारीले माता पिताको स्मृतीमा एक लाख पाँच सय ५५ रुपियााँको अक्षयकोष स्थापना गर्नु भएको छ । त्यसैगरी विद्यालयका २८ जना शिक्षकहरूको तर्फबाट चार लाख ५० हजार रुपियाँको अक्षयकोष स्थापना गरेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्त सिंह ठकुरीले विद्यालयको स्वर्ण महोत्सवको अवसरमा सम्पूर्णलाई सहयोग गरिदिन हुन हार्दिक अनुरोध गर्नु भएको छ । विद्यालयका पूर्व विद्यार्थी, पूर्व विद्यालय व्यवस्थापन समिति, अभिभावक, समाजसेवी सम्पूर्णलाई पत्रकार सम्मेलन मार्फत औपचारिक निम्ता गरिएको अनुरोध गर्नुभएको छ ।
विद्याज्योती नमुना माध्यमिक विद्यालय २०३२ सालमा कण्ठपुर क्षेत्रमा बस्ती बसेसँगै स्थापना भएको थियो । स्याउलाले बारेर शिक्षण सुरु गरिएको सो विद्यालय विभिन्न आरोहअवरोह पार गर्दै ५० औँ वसन्त पार गरेको छ ।








