यज्ञप्रसाद सापकोटा
बर्दिया ।
बर्दियाको बढैयाताल गाउँपालिका वडा नं ८मा रहेको श्री विद्याज्योती नमुना माध्यमिक विद्यालय कण्ठपुरमा अक्षयकोष स्थापनाको लागि ४२ लाख भन्दा बढी रकम सङ्कलन भएको छ । विद्यालयको स्वर्ण जयन्तीको अवसरमा गरिएको आव्हान ३३ जनाले ४२ लाख रुपियाँको अक्षयकोष स्थापना गरेका हुन् ।
विद्यालयमा अध्ययन गरेको पूर्व विद्यार्थी, पूर्व शिक्षक, हाल कार्यरत शिक्षक र कर्मचारी, समाजसेवी अभिभावक लगाएतकाले अक्षयकोष स्थापना गर्नका लागि रकम सहयोग गरेका छन् । सबैभन्दा बढी रकम पाँच लाख पाँच रुपैयाँ बराबरको अक्षयकोष स्थापना गर्नेमा विद्यालयका शिक्षक तथा कर्मचारी परिवार रहेका छन् । भने व्यक्तिगत रुपमा सबैभन्दा बढी दुई लाख एक हजार एक सय ११ रुपियाँ बढैयाताल गाउँपालिका वडा नं ८ पशुपति बजारका पूर्ण बहादुर मगरले बुवा डण्ड बहादुर मगरको स्मृतीमा अक्षयकोष स्थापना गर्नुभएको छ । ३३ वटा अक्षयकोष स्थापना गर्नेहरू मध्य अधिकांश बढैयाताल गाउँपालिकाका रहेको विद्यालयका प्रधानाध्यापक भक्तिसागर रेग्मीले बताउनु भयो । हरेक व्यक्तसमेत आ आफ्नो व्यक्तिहरूको स्मृतिमा अक्षयकोष स्थापना गर्नका लागि रकम प्रदान गर्नु भएको छ । दाताको चाहना अनुसार विभिन्न विधामा विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान गर्नका लागि अलग अलग अक्षयकोष स्थापना गरिने उहाँले बताउनु भयो ।
त्यसैगरी स्वर्ण जयन्ती समारोह सञ्चालनका लागि १२ लाख रुपियाँ भन्दा बढी रकम सहयोग संकलन भएको छ । स्वर्ण जयन्ती तथा ५१ औँ वार्षिकोत्सव मनाउनका लागि एक सय ६ जना दाताले सहयोग गरेको प्रधानाध्यापक रेग्मीले बताउनु भयो ।
स्वर्ण जयन्तीको अवसरमा विद्यालयले गत पुस ४ गते देखि विभिन्न कार्यक्रम गरिरहेको छ । हाल सम्म हाजिरीजवाफ प्रतियोगिता, भलिबल प्रतियोगिता, विभिन्न खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको छ । त्यसैगरी मङ्गलबार रक्तदान र स्वास्थ्य शिविर, बुधबार पूर्व विद्यालय व्यवस्थापन समिति र पूर्व विद्यार्थी मिलन तथा वृहत अभिभावक भेलाको आयोजना गरिने विद्यालयले जनाएको छ । बिहीबार मूल स्वर्ण महोत्सव समारोहको आयोजना गर्दै शुक्रबार ५१ औँ वार्षिकोत्सव मनाइने स्वर्ण जयन्ती प्रचार प्रसार समितिका संयोजक अर्जुन सुवेदीले बताउनु भयो ।
विद्याज्योती नमुना माध्यमिक विद्यालय २०३२ सालमा कण्ठपुर क्षेत्रमा बस्ती बसेसँगै स्थापना भएको थियो । स्याउलाले बारेर शिक्षण सुरु गरिएको सो विद्यालय विभिन्न आरोहअवरोह पार गर्दै ५० औँ वसन्त पार गरेको छ ।








