बढैयाताल ।
विद्यालयको स्वर्णजयन्तीको अवसरमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ११ सय ३० बढिले स्वास्थ्य चेकजाँच गरेका छन् । बर्दियाको बढैयाताल गाउँपालिका वडा नं ८मा रहेको श्री विद्याज्योती नमुना माध्यमिक विद्यालय कण्ठपुरले आयोजना गरेको स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सकद्वारा उनीहरूको चेकजाँच भएको हो ।
विद्यालयले स्वर्णजयन्तीको अवसरमा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रमको गरिएको थियो । कार्यक्रममा ३८ पीण्ड रगत समेत संकलन भएको विद्यालयका प्रधानाध्यापक भक्तिसागर रेग्मीले बताउनु भयो । स्वास्थ्य शिविरमा पाँच सय ११ जना जनरल बिरामी, दुई सय ५९ जना स्त्री रोग सम्बन्धी बिरामी, दुई सय २० जना आँखाका बिरामी र एक सय ४० जना हाडजोर्नीका बिरामीको चेकजाँच र उपचार गरिएको थियो । चेकजाँच गरिएका आँखाका बिरामीहरू मध्ये २० जना बिरामी शिवगंगा आँखा अस्पतालमा शल्यक्रियाको लागि रेफर गरिएको स्वर्णजयन्ती प्रचार प्रसार समितिका संयोजक अर्जुन सुवेदीले बताउनु भयो । शिविरमा निःशुल्क औषधी उपलब्ध गराइएको थियो भने शिविरमा फेला परेका जटिल समस्याहरूको थप उपचारका लागि सम्बन्धीत अस्पतालहरूमा रेफर गरिएको संयोजक सुवेदीले बताउनु भयो ।
स्वर्ण जयन्तीको अवसरमा विद्यालयले गत पुस ४ गते देखि विभिन्न कार्यक्रम गरिरहेको छ । हाल सम्म हाजिरी जवाफ प्रतियोगिता, भलिबल प्रतियोगिता, विभिन्न खेलकुद प्रतियोगिता, साँस्कृतिक कार्यक्रम, रक्तदान र स्वास्थ्य शिविर संचालन गरिएको छ ।
विद्याज्योती नमुना माध्यमिक विद्यालय २०३२ सालमा कण्ठपुर क्षेत्रमा बस्ती बसेसँगै स्थापना भएको थियो । स्याउलाले बारेर शिक्षण सुरु गरिएको सो विद्यालय विभिन्न आरोहअवरोह पार गर्दै ५० औँ वसन्त पार गरेको छ ।








