यज्ञप्रसाद सापकोटा
बर्दिया ।
बर्दियाको मधुवन नगरपालिका वडा नं १ पत्थरबोझीमा रहेको सरस्वती आधारभुत विद्यालयमा रहेको बाल संरक्षण गृहका १७ जना बालबालिकाहरू जन्मदर्ता विहिन रहेका छन् । सानो उमेरमा बुवा आमा गुमाएका बालबालिकाहरूको अहिले सम्म जन्मदर्ता बनेको छैन ।
मधुवन नगरपालिकाको लगानीमा विद्यालयले सञ्चालन गरेको संरक्षण गृहमा ३७ जना बालबालिका बस्दै आएका छन् । त्यसमध्ये १७ जना बालबालिकाको जन्मदर्ता नभएको विद्यालयले जनाएको छ । जनमदर्ता नभएपनि बालबालिकाको पढ्न पाउने हक सुनिश्चित गर्नका लागि विद्यालयले बालबालिकाकालाई विद्यालय मै राखेर पढाईएको छ । उनीहरूको बुवा आमा नभएका वा बुवा आमाले छोडेर गएको हुनाले र घरमा बसेर पढ्न पाउने अवस्था नभएको हुनाले बाल संरक्षण गृहमा राखिएको हो ।
जन्मदर्ता नहुनेमा कक्षा ६ मा पढ्ने सागर परियार, स्वस्तिका थारू, अमन बोहोरा, सचिन चौधरी रहेका छन् । त्यसैगरी कक्षा ५ मा पढ्ने राधिका परियार, कनैया थारू र सुशील थारू र कक्षा ४ मा पढ्ने कृष्ण बि.क. र कक्षा ३ मा पढ्ने कृष्ण थारूको जन्मदर्ता छैन । कक्षा २ मा पढ्ने नतेश शाही, सुशीला थारू, रमण बस्नेत, सन्देश बस्नेत, अनुप बोहोरा तथा कक्षा १ मा पढ्ने इसिका शाही र दुर्गेश बि.कको जन्मदर्ता नभएको विद्यालयका शिक्षक घनराज खत्रीले जानकारी दिनुभयो । उहाँले पटक पटक बालबालिकालाई आफ्ना आफन्तीको सहयोगमा जन्मदर्ता बनाउन भनेको बताउनु भयो । जन्म दर्ता नभएपनि विद्यालयले भर्ना गरेर बालबालिकालाई पढाई रहेको बताउनु भयो ।
संविधानमा नै जन्मदर्ताको हक हुने भनिएको भए पनि विद्यालयमा रहेको १७ जना विद्यार्थी अझै पनि जन्मदर्ताको अधिकारबाट वञ्चित रहेका छन् । बुबाआमाको सानैमा मृत्यु भएको र हजुरबुबा हजुरआमाले पाल्न नसकेर विद्यालयमा छोडेको विद्यार्थी विद्यालयका शिक्षक वलीले बताउनु भयो ।
प्रचलित कानुनमा भएको व्यवस्था अनुसार बुवा आमा नभएपनि घरपरिवारको सदस्यहरू संरक्षक बसेर जन्म दर्ता बनाउन सकिने छ । भने संरक्षक र सुचक नभएमा सम्बन्धित वडाको अध्यक्षले सुचकको रुपमा रहेर समेत जन्म दर्ता बनाउन सक्ने व्यवस्था रहेको छ । कानून बमोजिमको संरक्षक वा माथवरले वा त्यस्तो व्यक्ति नभएमा स्थानीय तहको सम्बन्धित वडा अध्यक्षले सूचकको रुपमा रहेर जन्मदर्ता बनाउन सक्ने कानुनी व्यवस्था रहेको छ ।
मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटले कुन कुन वडाका बच्चा रहेका छन् बुझेर जन्मदर्ता बनाउन पहल गर्ने बताउनु भयो । उहाँले मधुवन नगरपालिका भित्रका सहजै जन्मदर्ता बन्ने बताउँदै अरु स्थानका बच्चाको जन्मदर्ता बनाउन पहल गर्ने बताउनु भयो ।








