यज्ञप्रसाद सापकोटा
बर्दिया ।
बर्दिया र कैलालीको बिचमा रहेको कर्णाली नदीको शत्तीघाट क्षेत्रलाई नेपाल कै पहिलो मत्स्य अभयारण्य (फिस स्याङ्च्युरी) घोषणा गरिएको छ । राजापुर नगरपालिका र टिकापुर नगरपालिकाले शत्तीघाट पुलको वरीपरी करिब चार वर्ग किलोमिटर क्षेत्रलाई मत्स्य अभयारण्य क्षेत्र घोषणा गरेको हो ।
राजापुर र टीकापुर नगरपालिका नदि तटीय क्षेत्र स्थानीयहरूको सहभागितामा माछा र जलचरको संरक्षणको लागि मत्स्य अभयारण्य क्षेत्र गरेको हो । राजापुर नगरपालिका वडा नं ३ को टेडियाघाट देखि वडा नं ४को छेदियाघाट सम्म र टिकापुर नगरपालिकाको वडा नं ८को फाँटा देखि अर्नवाघाट सम्म मत्स्य अभयारण्य क्षेत्र घोषणा गरिएको हो । सो क्षेत्र जलीय जैविक विविधता, रैथाने माछा प्रजननका लागि उपयुक्त क्षेत्र मानिन्छ । माछा विज्ञका अनुसार कर्णाली नदीमा करिब एक सय ९७ प्रजातीका माछा पाइन्छ त्यस मध्ये सबैभन्दा बढी एक सय ३६ प्रजातीका माछा तल्लो कर्णाली क्षेत्रमा मात्र पाइन्छ ।
नदी आसपासका दुवै नगरपालिका र स्थानीयवासीको सहमति र सहभागितामा मत्स्य अभयारण्य क्षेत्र घोषणा गरिएको राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश थारूले बताउनु भयो । उहाँले तोकिएको क्षेत्र भित्र माछा मार्न जाल थाप्न नपाइने बताउँदै आसपासको क्षेत्रमा पनि प्रजनन समय भन्दा बाहेकको समयमा महाजाल, विषादी, करेन्ट र विस्फोटक पदार्थको प्रयोग नगरी माछा मार्न पाइने बताउनु भयो । “हामीले अहिले सम्म माछाको स्वाद लिन पाएका छौं हाम्रा छोरा नातीले पनि माछाको स्वाद लिन पाउन भनेर मत्स्य अभयारण्य क्षेत्र घोषणा गरेका हौँ ।” उहाँले भन्नु भयो –“माछा संरक्षणले स्थानीयलाई नै फाइदा हुन्छ, अध्ययन र पर्यटकीय क्षेत्रको रुपमा पनि विकास गर्न सक्छौँ ।”
माछा संरक्षणका लागि मत्स्य अभयारण्य क्षेत्र घोषणा गरिएको बताउँदै टिकापुर नगरपालिकाका प्रमुख रामलाल डगौराले यसलाई घोषणामा मात्र सीमित नबनाइ नगरपालिकाले कार्यविधि बनाएर नै लागु गर्ने बताउनु भयो । नदी तटिय क्षेत्रका स्थानीयवासीको सहभागितामा १५ ओटा समुह बनाई संरक्षणको काम सुरु गरिएको उहाँले बताउनु भयो । साँस्कृतीक जगेर्नाका लागि माछाको समय चक्र अनुसार मापदण्ड बनाई निश्चित अवधि तोकेर माछा मार्न समेत दिइने नगरप्रमुख डगौराले बताउनु भयो ।

माछामा आश्रित नदी तटीय क्षेत्रका स्थानीयवासीको वैकल्पिक आयमूलक कार्यहरू गर्ने, माछा आपुर्तिका लागि माछा पालनमा सहयोग गरिने र जिविकोपार्जनमा सहयोग गरिने योजना रहेको छ । सो क्षेत्रमा अवैध र अव्यवस्थित रुपमा नदीजन्य पदार्थ उत्खननमा समेत रोक लगाइएको छ ।
डब्लु डब्लु एफ नेपालका प्रतिनिधि डा घनश्याम गुरुङले कर्णाली शत्तीघाट क्षेत्र नेपाल कै पहिलो मत्स्य अभयारण्य क्षेत्र भएको बताउनु भयो । उहाँले जलीय जैविक विविधता संरक्षणका लागि नेपाल पहिलो र उदाहरणीय काम भएको बताउनु भयो ।
जलचर संरक्षणकर्मी विजय राज श्रेष्ठले मत्स्य अभयारण्य क्षेत्र लागु भएपछि कर्णाली नदी अध्ययन र पर्यटकीय स्थल बन्ने बताउनु भयो । उहाँले माछाको संरक्षण सँगै घडियाल गोही, डल्फिन र ओतको पनि संरक्षण हुने बताउनु भयो ।
नेपाल मै पहिलो पटक घोषणा गरिएको सो क्षेत्रमा डल्फिन, ओत र घडियाल गोही विचरण गर्ने क्षेत्र हो । जथाभावी तरिको माछा मार्न रोकिएपछि माछा सँगै अरु जलचरको संरक्षण हुने भएको छ । देश मै पहिलोपटक घोषणा गरी व्यवस्थापन गर्न थालिएको यस क्षेत्रलाई नमुनाको रुपमा हेरिएको छ ।








