यज्ञप्रसाद सापकोटा
बर्दिया ।
गत असोज ६ गते गेरुवा गाउँपालिका वडा नं ४ राजिपुर निवासी २२ वर्षीय विवश थारू कर्णाली नदीमा गोहीको आक्रमणबाट बेपत्ता भए । विवश हाल सम्म फेला नपर्दा परिवारको विचल्ली भएको छ ।
भैंसी चराउन गएका विवश नदीमा भैसी गएपछि फर्काउन जाँदा नदीको बिचमा गोहीले आक्रमण गरेको थियो । भैंसी खेद्दै गर्दा नदीको बिचमा गोहीले आक्रमण गरेर ढलाएको प्रत्यक्षदर्शी जनक थारूले बताउनु भयो ।
गोहीको आक्रमणबाट बेपत्ता भएका विवशको खोजबिनको लागि बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी दिनरात खटिए । निकुञ्जको हात्ती र मोटरबोटको सहायताले एक महिना भन्दा बढी समय सम्म खोजबिन गर्दा समेत फेला नपरेपछि खोजबिन कार्य रोकिएको निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी मनोजमणि पौडेलले बताउनु भयो । उहाँले लामो समय सम्म खोजबिन गर्दा समेत विवश फेला नपरेको हुनाले खोजीकार्य रोकिएको बताउनु भयो । स्थानीयबासीले अनुसार भारतको कैलाशपुरी बाँधमा समेत गएर खोजीबिन गरिएको थियो ।
लामो समय सम्म पनि विवश फेला नपरेपछि खोजबिन टोली निराश भएका छन् । खोजबिन गर्दा शव सम्म फेला नपरेपछि परिवारको विचल्ली भएको छ । बुढेसकालको साहरा र घरमा कमाउने छोरा बेपत्ता भएपछि विवशको आमा जलावती थारू अझैपनि शोकमा हुनुहुन्छ ।
बुवाको मृत्यु भएपछि परिवारको आर्थिक अवस्था कमजोर भएको कारण पढाइ छोडेर विवश पैसा कमाउन ज्याला मजदुरी गर्न भारत र नेपालका विभिन्न स्थानमा जानेको गरेको उहाँले बताउनु भयो । परिवारको पालनपोषणको जिम्मेवारी पुरा गरेका विवश बेपत्ता भएपछि परिवारमा आर्थिक समस्या देखिएको छ । उहाँले भन्नुभयो– “ सम्पतीको नाममा यहीँ घरबास सहितको ३ कठ्ठा जग्गा छ, यो जग्गामा भएको उत्पादनले खान पुग्दैन ।” हाल विवशको परिवारमा आमा, विवशको श्रीमती र २ वर्षकी छोरी रहेका छन् ।
वन्यजन्तुको आक्रमणबाट मृत्यु भएमा सरकारले १० लाख राहत दिने व्यवस्था भएपनि विवशको परिवारले भने राहत पाउन सकेको छैन । राहत निर्देशिकामा भएको जटिलताका कारणले विवशको परिवार राहत पाउनबाट वञ्चित भएको हो । निकुञ्जले विवशको शव फेला नपरेको र पोष्टमार्टम रिपोर्ट नभएको कारणले राहत दिन नसकिएको बताएको आमा जलावतीले बताउनु भयो । उहाँले भन्नु भयो –“राहत लिन पोष्टमार्टम रिपोर्ट चाहिन्छ भन्छन्, मैले कहाँबाट ल्याउँ पोष्टमार्टम रिपोर्ट ?”
बर्दियामा अहिले सम्म वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारले १० लाख रुपैयाँ पाउँदै आएका छन् । ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८०’ ले वन्यजन्तुको आक्रमण भएको व्यक्तिको परिवारले राहत पाउनका लागि पोष्टमार्टम रिपोर्ट, प्रहरीको घटना स्थल मुचुल्का, मृत्युदर्ता र नाता प्रमाणित प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने व्यवस्था छ । तर विवशको शव नै फेला नपरेको हुनाले आवश्यक कागजात जुटाउन सकिएको छैन ।
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत डाक्टर अशोक कुमार रामले असोजमा गोहीले बेपत्ता पारेको विवशको परिवारलाई राहत निर्देशिका २०८० मा भएका व्यवस्था अनुसार राहत दिन नसकिएको बताउनु भयो । उहाँले भन्नु भयो –“परिवारलाई राहत दिनका लागि विवशको शव फेला नपरेकोले समस्या भएको जानकारी गराउँदै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा पत्र पठाएका छौँ ।”
कहिलेकाँही वन्यजन्तुको आक्रमणमा परि बेपत्ता हुने र शव नै फेला नपर्ने अवस्था पनि आउन सक्ने हुनाले नीतिगत रुपमा सुधार हुन जरुरी भएको संरक्षणकर्मीहरू बताउँछन् ।








