बर्दिया ।
बर्दिया प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ की नेकपा एमालेकी उम्मेद्वार बिमला बि कले जेनजी युवा मार्फत प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि मतदाता समक्ष आफ्ना प्रतिवद्धता सार्वजनिक गर्नुभएको हो ।
सार्वजनिक गरिएको प्रतिवद्धतामा नवयुवा पुस्ताहरूको लागि रोजगारी र आर्थिक शशक्तिकरण, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण, कृषी आधुनिकीकरणसँगै किसानलाई सिचाइ मल बीउको व्यवस्थापन गर्ने कुरा समेटिएको छ । त्यसैगरी महिला शशक्तकरण, दलित भूमिहिन सुकुम्बासी र पछाडि पारिएका समुदायको शशक्तीकरण, गुणस्तरीय शिक्षा र स्वास्थ्य, भौतिक पूर्वाधार, यातायात र बाढी नियन्त्रण र सुशासन कायम गर्ने कुरा समेटिएको छ ।
थारू समुदायको सशक्तिकरण गर्ने प्रतिवद्धता पत्रमा समेटिएको छ । थारू समुदायको कला संस्कृतिको संरक्षण र पहिचान, आर्थिक सशक्तिकरण र रोजगारीलाई प्रथामिकतामा राखिएको छ । त्यसैगरी थारू समुदायको सामाजिक न्याय र समावेशी विकासका लागि मुक्तकमैया र कमलरीलाई स्थायी पर्नस्थापना गर्ने, आवास र रोजगारीको व्यवस्था गर्ने थारू समुदायको मुख्य चाडपर्वलाई राष्ट्रियस्तरमा प्रर्वद्धन गर्ने, परम्परागत नाच गान भेषभूषा संरक्षणको लागि बजेट तथा कार्यक्रमको सुनिश्चितता गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।
बर्दियाको जल्दोबल्दो समस्या मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि विशेष प्राथमिकताका साथ काम गर्ने उम्मेदवार बिकले बताउनु भएको छ । उहाँले राष्ट्रिय निकुञ्ज ऐन संसोधन, वन्यजन्तु पीडितलाई राहत तथा क्षतीपुर्ती तीस दिन भित्र दिने व्यवस्था, वन्यजन्तु बस्तीमा पस्नबाट रोक्नका लागि स्थायी संरचना निर्माणलाई प्राथमिकता दिने बताउनु भयो । त्यसैगरी बर्दिया नेपाल मै दोस्रो धेरै अन्न उत्पादन गर्ने जिल्ला भएकोले मल बिउ र कृषी यन्त्रको लागि बिशेष प्रथामिकतामा राख्न नीतिगत रुपमा पहल गर्ने बताउनु भएको छ ।
उम्मेद्वार बिकले जेनजी युवाहरूको रोजगारी र आर्थिक सशक्तिकरणको लागि प्रत्ये स्थानीय तहमा युवा स्टार्टअप कोष स्थापना गरी बिना धितो सहुलियत ऋण उपलब्ध गराउने, एक पालिका एक प्राविधिक सिप विकास केन्द स्थापना गर्ने प्रतिवद्धता जनाउनु भएको छ । प्लस टु पछि कम्तीमा ६ महिनाको अनिवार्य सीपमूलक तालिम दिई स्वरोजगार बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
जेनजी युवाहरूको भावनालाई समेट्ने गरी प्रतिवद्धता पत्र तयार गरी उनीहरू कै हातबाट सार्वजनिक गरिएको उम्मेदवार बि.क.ले बताउनु भयो ।








