यज्ञप्रसाद सापकोटा
बर्दिया ।
केही समय अगाडि सम्म मधुवन नगरपालिका वडा नं १ को टाइगर भिल्ला रिसोर्टका सञ्चालक सुनिल घिमिरे साँकेतिक भाषा बुझ्नु हुन्थेन । तर अहिले अधिकांश र अत्यावश्यक सांकेतिक भाषा बुझ्नु हुन्छ ।
साँकेतिक भाषामा कुरा गर्ने ८ जना कामदार राखेपछि भाषा सिक्न करै लाग्यो । उहाँहरूसँग कुरा गर्दा गर्दै भाषा सिक्ने मौका पाउनु भएको छ सञ्चालक घिमिरेले । रिसोर्ट खोल्न भन्दा अगाडि नै अपाङ्गता भएका र एकल महिलाहरूलाई रोजगारी दिने प्रण गर्नुभएका घिमिरेले अहिले छ जना सुस्तश्रवणशक्ती भएका युवा र तीन जना एकल महिलाहरूलाई रोजगारी दिइरहनु भएको छ । उहाँ भन्नु हुन्छ –æ पहिलो प्रथामिकता अपाङ्गता भएका व्यक्ती, एकल महिला र वन्यजन्तु पीडितहरूलाई रोजगारी दिएको छु । मैले रोजगारी दिएमा उनीहरूको रोजिरोटी चल्छ ।Æ सुस्त श्रवण शक्ती भएका भएपनि काममा भने सन्तुष्ट रहेको उहाँले बताउनु भयो । उहाँका अनुसार दुई जना भने अर्को ठाउँमा काम गर्न गएका छन् ।
टाइगर भिल्ला रिसोर्टमा काम गर्ने छ जना सुस्तश्रवण शक्ती भएका युवाहरू बर्दिया कैलाली कञ्चनपुर र सुर्खेतका हुनुहुन्छ । उहाँहरू बर्दिया गणेशपुरका २२ वर्षिय केशव न्यौपाने, कैलाली टिकापुरका ३० वर्षिय तपेन्द्र रावल, कैलाली धनगढीका २७ वर्षिय राम थारू, कैलाली टिकापुरका २० वर्षिय हरिलाल चौधरी, कञ्चनपुर बेलौरीका २८ वर्षिय धर्मराज साउद र सुर्खेत विरेन्द्रनगरका ३१ वर्षिय जय नेपाली हुनुहुन्छ । त्यसैगरी मधुवन नगरपालिका १ कै तीन जना एकल महिला समेत सो रिसोर्टमा काम गर्नु हुन्छ ।
विगत् डेढ वर्ष देखि होटलमा काम गरेको सुस्त श्रवण शक्ती भएका राम थारूले बताउनु भयो । उहाँले सुरुमा वेटर र हाउसकिपिङ्गको तालिम गरेको बताउँदै तालिम पश्चात् काम नपाएर भौतारिरहेको समयमा टाइगर भिल्लाले काम दिएको बताउनु भयो । काम खोज्दै जाँदा सम्पर्क भएपछि आएर काम गर्न थालेको बताउनु भयो ।
एक दुई गर्दै आठ जना सम्म सुस्तश्रवण शक्ती भएकाले काम गरेको बर्दिया गणेशपुरका केशव न्यौपानेले बताउनु भयो । उहाँले अहिले दुई जना अर्को ठाउँमा काम गर्न जानु भएको बताउँदै काम पाएको अत्यन्त खुसी भएको बताउनु भयो । रिसोर्टले खान बस्न र लुगाको सुविधा दिएर मासिक १२ हजार तलब दिएको उहाँले बताउनु भयो ।
टाइगर भिल्ला रिसोर्ट विगत् एक वर्ष ८ महिना देखि सञ्चालनमा रहेको छ । विगत २७ वर्ष देखि काठमाडौँमा लेखा परिक्षकको रुपमा कार्यरत घिमिरेले करिब ११ करोड लगानीमा रिसोर्ट खोल्नु भएको थियो । करिब २ विगहा क्षेत्रफलमा फैलिएको रिसोर्टमा २४ ओटा कोठा रहेका छन् । पौडी पोखरी खेल्ने चौर सम्मको सुविधा भएको रिसोर्टमा दुई जनाको एक रातको प्याकेज पाँच हजार पाँच सय रहेको घिमिरे बताउनु हुन्छ । उहाँ भन्नु हुन्छ –æ रिसोर्टको प्रचार प्रसार गर्ने लगानी ग्राहकलाई नै छुट दिने गरेको छु । Æ
बर्दिया नै किन रिसोर्ट खोल्नु भयो भन्ने प्रश्नमा उहाँले भन्नु भयो –अहिलेको बर्दिया भनेको ३० वर्ष अगाडिको चितवन हो, यहाँको प्राकृतिक सौन्दर्यतामा कृतिमता मिसिएको छैन, यातायात सुविधा युक्त र सस्तो हुने हो भने बर्दियामा पर्यटकको ओइरो लाग्छ ।








